३ हजार ५ सय ५३ कोरोना संक्रमित थपिए, अस्पतालमा कर्मचारी अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

३ हजार ५ सय ५३ कोरोना संक्रमित थपिए, अस्पतालमा कर्मचारी अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौं, २९ पुस । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ५५३ कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पीसीआर र एन्टिजेन गरी १५ हजार ८१ परीक्षणमा ३ हजार ५५३ जनामा कोरोना पुष्टि भएको हो । १० हजार ४९८ पीसीआर परीक्षणमा २ हजार ९२२ जना संक्रमित भएका छन् भने ४ हजार ५८३ एन्टिजेन परीक्षण हुँदा ६३१ जनामा संक्रमण पुष्टि भएको छ ।
हालसम्म पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ८ लाख ४१ हजार २९७ पुगेको छ । एन्टिजेन विधिद्वारा गरिएको परीक्षणमा ९९ हजार २२५ जनामा संक्रमण देखिएको छ । २४ घण्टाको अवधिमा २७१ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १५ हजार ३४७ पुगेको छ । सोही अवधिमा १ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१० पुगेको छ ।
सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ । २४ घण्टामा खोप लगाउनेको संख्या ३ लाख ५६ हजार ४ रहेको छ ।
यसैबीच सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिने प्रबन्ध गर्न निर्देश गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका अस्पताल र प्रयोगशालाहरूलाई पत्राचार गर्दै जनशक्ति अभाव हुन नदिन निर्देशन गरेको हो । मन्त्रालयले स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त भए तत्कालै पदपूर्तिको व्यवस्था गर्न भनेको छ ।