काठमाडौंमा राजनीतिक भेला र मेला–महोत्सव गर्न रोक

काठमाडौंमा राजनीतिक भेला र मेला–महोत्सव गर्न रोक


काठमाडौं २७ पुस । कोभिड १९ (कोरोना भाइरस) को सङ्क्रमण बढ्दै गएपछि काठमाण्डौ उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।
काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिम घटाउन आज राति १२ बजेदेखि लागू हुने गरी राजनीतिक भेला र मेला, महोत्सव गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको आदेशमा उल्लेख छ । सभा, सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।
यस्तै आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को निर्णय कार्यान्यन गर्ने पनि बैठकले निर्णय गरेको छ । भौतिक उपस्थितिमा पठनपाठन रोक्ने आदेशमा उल्लेख छ । पूर्वनिर्धारित परीक्षा भने स्वास्थ्य मापदण्ड पालना हुने गरी सञ्चालन गर्न पाइने छ ।
माघ ७ गतेदेखि कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रामा, पार्कमा प्रवेश गर्दा खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । अर्काे सूचना नभएसम्मका लागि यो आदेश लागू हुने विज्ञप्तिमा उल्लेख छ ।