भिक्टोरिया र न्यूसाउथवेल्सका अस्पतालमा कोरोना बिरामी बढे, तास्मानियामा घटे !

भिक्टोरिया र न्यूसाउथवेल्सका अस्पतालमा कोरोना बिरामी बढे, तास्मानियामा घटे !

होबार्टको जेलमा रहेका कैदीलाई पनि कोरोना पोजेटिभ



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियामा कोरोनाका नयाँ संक्रमित थपिँदै जाँदा अस्पतालहरुमा यसको चाप बढेको छ । न्यूसाउथवेल्समा यतिबेला २ हजार १ सय ८६ जना कोरोना संक्रमित अस्पतालमा छन् भने यीमध्ये १ सय ७० जना आईसीयूमा छन् । गएको २४ घण्टामा ११ जनाले कोरोनाको कारण नै ज्यान गुमाएका छन् ।

कोरोनाको पहिलो डोज खोप लगाएको १६ वर्षमाथिको उमेर समूहको प्रतिशत ९५ दशमलब १ पुगेको छ भने दुबै डोज लगाउनेको संख्या ९३ दशमलब ७ छ ।

न्यूसाउथवेल्समा एन्टीजेन टेष्टबाट प्राप्त नतिजालाई अंकीत गर्ने प्रक्रिया सुरु नभएकोले यहाँ भएका ७१ हजार ३ सय २५ पीसीआर परीक्षणमा २५ हजार ८ सय ७० जनालाई कोरोना देखिएको हो ।

भिक्टोरियामा गएको २४ घण्टामा कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ भने अस्पतालमा भर्ना हुनेको संख्या उल्लेखनीय रुपमा बढेको छ । यतिबेला भिक्टोरियाका अस्पतालहरुमा ८ सय ६१ जना कोरोना संक्रमित छन् जसमध्ये १ सय १७ जना आईसीयूमा उपचार गराइरहेका छन् ।

यसअघि अक्टोबरमा मात्रै ८ सय ५१ जना कोरोना संक्रमित अस्पतालमा थिए । त्यसपछि विस्तारै निको हुनेको संख्या धेरै बन्दैगर्दा फेरि अस्पतालमा चाप बढेको तथ्यांकले देखाएको हो । ३७ हजार ९ सय ९४ कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

उता तास्मानियामा भने अस्पतालमा रहेका कोरोना संक्रमितको संख्या घटेको छ । यतिबेला तास्मानियामा १८ जनाले कोरोनाविरुद्ध उपचार गराइरहेका छन् जसमध्ये ७ जना मात्रै अस्पतालमा छन् । आईसीयूमा राखेर कसैको उपचार गर्नुपर्ने अवस्था छैन भने कोरोनाकै कारण गएको २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

पीसीआर परीक्षण र एन्टीजेन परीक्षणबाट १३ सय ७९ नयाँ कोरोना संक्रमित थपिएका छन् । उता होबार्टको जेलमा रहेका कैदीलाई पनि कोरोना पोजेटिभ देखिएको छ । स्थानीय रिस्डन जेलमा रहेका दुईजनामा कोरोना देखिएको हो ।