क्रिकेट संघबाट प्याकुरेल र श्रेष्ठको राजीनामा

क्रिकेट संघबाट प्याकुरेल र श्रेष्ठको राजीनामा


काठमाडौं, १३ असोज । नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष विनोदबाबु श्रेष्ठले राजीनामा दिनुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गर्नुभएको हो । आगामी दिनमा क्यान थप सफल र सक्षम बनाउन सहयोग गर्ने अभिप्रायले आफूहरूले राजीनामा दिएको उहाँहरूको भनाइ छ ।

दुई वर्षअघि मंसिर ११ मा चतुरबहादुर चन्द नेतृत्वमा अशोकनाथ प्याकुरेल सचिव पदमा निर्वाचित हुनुभएको थियो । क्यानका प्रवक्ता समेत रहेका प्याकुरेलको अध्यक्ष चन्द र कोषाअध्यक्ष रोशनकुमार सिंहसँगको सम्बन्ध बिग्रिएको चर्चा छ । प्याकुरेलले दुई वर्ष अवधिमा राम्रो काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

एड प्याडलाई जर्सी प्रायोजक, त्रिकोणात्मक सिरिजमा जोरी स्पोर्ट्सलाई १५ लाखमा बिक्री र नेपाल प्रिमियर लिग (एनपीएल) भारतीय कम्पनी सेभेन थ्री स्टारलाई ठेक्का दिनेमा प्याकुरेलको हात रहेको आरोप लागेको छ ।