२५ जनाभन्दा धेरै जम्मा हुन गृहले रोक लगायो, ७ गतेदेखि खोप कार्ड अनिवार्य

२५ जनाभन्दा धेरै जम्मा हुन गृहले रोक लगायो, ७ गतेदेखि खोप कार्ड अनिवार्य


काठमाडौं, २६ पुस । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले सार्वजनिक ठाउँमा २५ जनाभन्दा धेरै जम्मा हुन रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको भन्दै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भिडभाड हुन नदिन २५ जनाभन्दा धेरै भेला हुन रोकेको हो । अर्को सूचना नभएसम्म सार्वजनिक ठाउँमा २५ जनाभन्दा बढी भेला हुने गरी भेला, मेला तथा महोत्सव नगर्न÷नगराउन आवश्यक व्यवस्थासहित जिल्लामा परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ । यो निर्णयअनुसार जिल्लाले सङ्क्रमण अवस्थाको विश्लेषण गरी आवश्यक निर्णय गर्न सक्नेछन् ।
सङ्क्रमणको अवस्थाअनुसार जिल्ला प्रशासन कार्यालयले जिल्ला र पालिकाको अवस्थाको विश्लेषण गरी लचकता अपनाउन वा कडाइ गर्न सक्ने गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रशासनले जहिले र जसरी रोक लगायो त्यसैअनुसार नियम लागू हुनेछ । उहाँले भन्नुभयो, ‘जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कोभिड व्यवस्थापन समिति छ । त्यही समितिले आवश्यक निर्णय गर्न सक्छ ।’
यस्तै गृह मन्त्रालयले सार्वजनिक ठाउँमा राजनीतिक भेला तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने, अत्यावश्यक नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने जनाएको छ । गृह मन्त्रालयले मातहतका सुरक्षा निकाय र प्रशासन कार्यालयलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले हिजो आइतवार निर्णय गरी कार्यान्वयनमा लैजान गृह मन्त्रालयलाई सिफारिस गरेको थियो ।
त्यस्तै सार्वजनिक ठाउँहरू– सरकारी कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड वा कार्डको फोटोको आधारमा मात्रै प्रवेशको व्यवस्था गर्न पनि सुरक्षा निकाय र तथा प्रशासनलाई निर्देशन दिएको छ ।
साथै माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्नका लागि खोप कार्ड अनिवार्य गर्न पनि निर्देशन गृह मन्त्रालयले दिएको छ । अहिलेसम्म कुनै पनि डोज खोप नलगाएको भए तुरुन्तै लगाइहाल्न मन्त्रालयका प्रवक्ता कोइरालाले आग्रह गर्नुभयो । उहाँका अनुसार माघ ७ गतेसम्म कम्तीमा एक मात्रा भए पनि खोप लगाएको कार्ड वा कार्डको फोटो लिएर मात्रै सार्वजनिक ठाउँमा जान पाइनेछ ।