नोभाक जोकोभिचलाई रिहा गर्न र कानूनी खर्च व्यहोर्न अष्ट्रेलियन सरकारलाई अदालतको आदेश

नोभाक जोकोभिचलाई रिहा गर्न र कानूनी खर्च व्यहोर्न अष्ट्रेलियन सरकारलाई अदालतको आदेश



मेलबर्न, अष्ट्रेलिया ।

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई तत्कालै रिहा गर्न र उनको पासपोर्ट फिर्ता गर्न अदालतले अष्ट्रेलियन सरकारलाई आदेश दिएको छ । अष्ट्रेलियाको संघीय सर्किट अदालतका न्यायाधीश एन्थोनी केलीले यस्तो निर्णय सुनाएका हुन् । यति मात्र नभएर यो मुद्दाका क्रममा लागेको सबै खर्च समेत संघीय सरकारलाई व्यहोर्न आदेश दिइएको छ ।

अदालतको आदेश सरकारको कदमका विरुद्धमा भएपनि अष्ट्रेलियन अध्यागमन कानून अनुसार अध्यागमन मन्त्रीले मन्त्रीस्तरीय निर्णयबाट कुनैपनि विदेशी नागरिकलाई देश निकाला गर्न वा उसको भिसा रद्द गर्न सक्छन् ।

भिक्टोरिया राज्य सरकार र टेनिस अष्ट्रेलियाले उनले पेश गरेका कागजात र हालै उनलाई कोरोना लागेर निको समेत भइसकेको स्थितिलाई मध्यनजर गर्दै कोरोनाविरुद्धको खोप नलगाए पनि अष्ट्रेलिया आउनसक्ने भन्दै उनलाई अष्ट्रेलियन ओपन खेल्न आउन दिने निर्णय गरेको थियो ।

अष्ट्रेलिया आउने वित्तिकै सिमा बलका अधिकारीहरुले जोकोभिचलाई आफ्नो स्पष्टीकरण दिने समेत मौका नदिई उनको भिसा रद्द गरिएको थियो ।

अदालतको यो निर्णयसँगै उनका समर्थकहरुले मेलबर्नको संघीय अदालत बाहिर खुशी मनाएका छन् । अध्यागमन सम्बन्धी जानकारहरुले अदालतको निर्णयका लागि सिमा सुरक्षा बलका अधिकारीहरुले उनीमाथि गरेको व्यवहार धेरै हदसम्म कारक रहेको बताएका छन् ।

करिब चार रात अध्यागमनको नियन्त्रणमा रहेका विश्व नम्बर एक खेलाडी जोकोभिचलाई पार्क होटलमा राखिएको छ । अष्ट्रेलियाबाट उनको यात्राका लागि मेडिकल छुट पाएको कागजपत्र नभएको भए जोकोभिचले आफ्नो यात्रा गर्ने थिएनन् । साथै, उनले बोर्डर फोर्सका अधिकारीहरुलाई टेनिस अष्ट्रेलियाका कर्मचारी आउँदासम्म यस्तो निर्णय नलिन समेत अनुरोध गरेका थिए ।

उनलाई आफ्नो कानून व्यवसायीसँग परामर्श गर्ने समय समेत दिइएको थिएन । यिनै कारणहरुलाई देखाउँदै जोकोभिचलाई अष्ट्रेलियन ओपनमा सहभागी हुने बाटो न्यायाधीशले खोलिदिएका छन् ।