Logo

कोभिड बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय



काठमाडौं, २५ पुस । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को आज बसेको बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिनुभयो । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म लम्ब्याउने गरी निर्णय गरेका हौं, यसले संक्रमणको चेन ब्रेक गर्ने अपेक्षा छ’ उहाँले भन्नुभयो, ‘निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेका छौं ।’
बैठकले विद्यालय बन्द रहेको अवस्थामा पनि १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षदेखि माथिका शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउन पनि आग्रह गरेको छ ।