अष्ट्रेलियामा ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’को रुपमा पुस २७ लाई मनाउने तयारी

अष्ट्रेलियामा ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’को रुपमा पुस २७ लाई मनाउने तयारी

मंगलबार अबर्न पार्कमा भेला भएर नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान गर्ने


मेसिड्नी, अष्ट्रेलिया । आगामी पुस २७ गते नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर अष्ट्रेलियामा पनि अन्तर्राष्ट्रिय नेपाली दिवस मनाइने भएको छ । समूदायका विभिन्न सदस्यहरु संलग्न रहेको समन्वय समिति नै बनाएर पुस २७ गतेलाई भव्य बनाउने तयारी गरिएको हो । नेपालमा प्रधानमन्त्रीलाई भेटेर राप्रपा र विवेकशील साझाले नेपाल दिवसको रुपमा पुस २७ लाई मनाउन माग गरिरहँदा अष्ट्रेलियामा भने सन् २०१९ बाट नै यो क्रम थालिएको थियो ।

सिड्नीबाट सुरु भएको यो अभियानको संयोजन समिति सदस्य मदनमणि अधिकारीले अष्ट्रेलिया सहित जपान, कोरिया, अमेरिका, बेलायत, फ्रान्स, युरोपका केही देशहरु, दुबई, कतार, बर्मा, भारत, मलेसिया लगायतका देशमा अन्तर्राष्ट्रिय नेपाली दिवस मनाइन लागेको जानकारी दिए । उनले केविसीखबरसँग भने, “नेपाली जातिय गौरवको दिन पारेर विश्वभर नै मनाउन लागिएको यो दिनको सन्देश नेपाली जहाँ भएपनि र जस्तो अवस्थामा रहेपनि उनीहरूको भावना र मनमा ऐतिहासिक बृहद नेपाल र नेपाली संस्कृति रहेको छ। नेपाली भएको प्रति उनीहरूलाई गर्व छ भनेर प्रदर्शनको अवसर पनि पुष २७ हो।”

संयोजन समितिमै रहेका डिला खरेलले सिड्नीको अबर्न पार्कमा आगामी मंगलबार ११ जनवरीको दिन भेला भएर नेपालको एकीकरणकर्ता पृथ्वीनारयण शाहप्रति सम्मान गर्ने बताए । उनले कार्यक्रम विहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने भन्दै सहभागी हुन आह्वान गरेका छन् । अष्ट्रेलियामा कोभिड १९ कोरोनाको संक्रमण व्यापक बढिरहेको बेलामा स्वास्थ्य मापदण्डहरुको पालना गर्दै कार्यक्रम गर्ने तयारी आयोजकको छ ।

खरेलले केविसीखबरसँग कुरा गर्दै भने, “सबै नेपाललाई एकीकृत गर्ने युगनायकका रूपमा रहेका पृथ्वीनारायण शाहको जन्मदिवश पारेर नै विश्वभर रहेका नेपालीलाई एउटै मालामा संगठित हुन र प्रगतीको लक्ष पहिल्याउन सहज बनाउने हाम्रो उदेश्य हो। त्यसका लागी नेपाली युवा उद्यमी पहल पनि सुरू भईरहेको छ ।”

अर्का आयोजक दिपक पौडेलले जसरी नेपालमा सबै जात जाति धर्मका नेपालीहरुलाई एकसूत्रमा बाँध्न पृथ्वीनारायण शाह सफल भएका थिए त्यसैगरी विश्वभर रहेका नेपालीहरुलाई पनि एउटै भावनामा जोड्न पृथ्वी जयन्ती नै उत्तम अवसर भएको बताएका छन् ।

सन् २०११ देखी नै अष्ट्रेलियामा नेपालीहरूले सिड्नी साथै अन्य शहरहरूमा ‘राष्ट्रिय एकता दिवश’ कै रूपमा अन्तर्क्रियात्मक कार्यक्रम गरेर पृथ्वी(जयन्ती मनाउने गरेका थिए । सन् २०१९ देखी यसलाई ‘अन्तर्राष्ट्रिय नेपाली दिवश’का रूपमा मनाउन थालिएको थियो ।