न्यूसाउथवेल्समा ४५ हजार, भिक्टोरियामा ५१ हजार कोरोनाका नयाँ संक्रमित भेटिए

न्यूसाउथवेल्समा ४५ हजार, भिक्टोरियामा ५१ हजार कोरोनाका नयाँ संक्रमित भेटिए



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियामा एन्टीजेन टेष्टमार्फत प्राप्त हुने नतिजालाई अनलाईन दर्ता प्रक्रिया सुरु गरेको पहिलो दिन नै भिक्टोरियामा ५१ हजार ३ सय ५६ नयाँ कोरोना संक्रमित थपिएका छन् ।

भिक्टोरियामा एकैदिन ९ जनाले ज्यान गुमाएका छन् । संक्रमित नयाँमध्ये २६ हजार ४ सय २८ जनाले एन्टीजेन टेष्टमार्फत आफुलाई कोरोना लागेको पत्तो पाएका थिए भने २४ हजार ९ सय २८ जनाले पीसीआर परीक्षण मार्फत कोरोना पोजेटिभको नतिजा प्राप्त गरेका हुन् । स्वास्थ्य विभागले एन्टीजेन टेष्टमार्फत प्राप्त नतिजा एकै दिनको नभएको जनाएको छ ।

गएको २४ घण्टामा मात्रै परीक्षण गरी नतिजा प्राप्त गर्नेहरुको संख्या करिब ६ हजार रहेको बताइएको छ । भिक्टोरियाका स्वास्थ्यमन्त्री मार्टिन फोलीले जनवरी ६ तारिखमा ५ हजा, ५ तारिखमा ३८ सय र जनवरी ४ तारिखमा २५ सय तथा जनवरी ३ तारिखमा १७ सय, जनवरी २ मा ६ सय २० जनालाई कोरोना लागेको जनाएका छन् ।

उता न्यूसाउथवेल्समा परीक्षण गराएकामध्ये ४० प्रतिशतलाई कोरोना देखिएको छ । २४ घण्टाभित्रै ४५ हजार ९८ जना कोभिड पोजेटिभ देखिएका छन् भने ९ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा उपचार गराउने कोभिड पोजेटिभको संख्या १७ सय ९५ पुगेको छ ।

एन्टीजेन परीक्षणको नतिजा प्राप्त हुनेक्रम रहेकोले यो संख्या निकै बढ्ने अनुमान छ । स्वास्थ्य क्षेत्रमा देखिएको दबाबलाई कम गर्न अत्यावश्यक बाहेकका शल्यक्रियालाई आगामी एक वर्षका लागि स्थगित गरिएको छ ।