सातै प्रदेशमा संयन्त्र गठन गर्ने सत्तारुढ गठबन्धनको निर्णय

सातै प्रदेशमा संयन्त्र गठन गर्ने सत्तारुढ गठबन्धनको निर्णय


काठमाडौं, २२ पुस । सत्तारुढ दल गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवासमा बसेको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव वेदुराम भुसालका अनुसार राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । ‘सत्ता गठबन्धनमा सहभागी पाँच दलीय गठबन्धनलाई राष्ट्रियसभा निर्वाचनमा प्रभावकारी बनाउने निर्णय भएको छ ।’
माघ १२ गते १९ सिटका लागि हुन गइरहेको राष्ट्रियसभा निर्वाचनको सम्बन्धमा पनि सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा गम्भीर छलफलपछि यस्तो निर्णय भएको भुसालको भनाइ छ । बैठकले राष्ट्रियसभा चुनावमा आफ्ना उम्मेदवार जिताउन सातै प्रदेशमा संयन्त्र बनाउने निर्णय गरेको हो ।
राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले तालमेल गरेका छन् । जसमा काँग्रेसका ६, माओवादी र एकीकृत समाजवादीका ५–५ , जसपा २ र जनमोर्चाले १ सिटमा उम्मेदवार उठाएका छन् । सबै उम्मेदवारलाई जिताउने गरी सत्ता गठबन्धनले रणनीति बनाएर जाने निष्कर्ष निकालेको भुसालको भनाइ छ ।
भुसालका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको हुन गइरहेको भारत भ्रमणको विषयमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री देउवासहित सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सत्तागठन्धनका दलका शीर्ष नेता सहभागी हुनुहुन्थ्यो ।