अनावश्यक व्यक्तिले पनि कोरोना परीक्षण गराइरहेको न्यूसाउथवेल्स प्रिमियरको भनाई

अनावश्यक व्यक्तिले पनि कोरोना परीक्षण गराइरहेको न्यूसाउथवेल्स प्रिमियरको भनाई

२४ घण्टामा न्यूसाउथवेल्समा ३४ हजार ९ सय ९४ कोभिड १९ कोरोनाका नयाँ संक्रमित



सिड्नी, अष्ट्रेलिया ।

यदि तपाईंले र्यापीड एन्टीजेन परीक्षण गर्नुभएको छ र यसमा पोजेटिभ देखिएको छ भने तपाईंले पीसीआर टेष्ट गरिरहनुपर्दैन । तर, अहिले न्यूसाउथवेल्समा एकैदिन १ लाख ११ हजार २ सय ३१ परीक्षणदर पुगेपछि यहाँका प्रिमियर डोमेनिक पेरोटेले अनावश्यक व्यक्तिहरुले पनि परीक्षण गराइरहेको प्रतिक्रिया दिएका छन् । हाल दैनिक करिब १ लाख १० हजारको हाराहारीमा नयाँ परीक्षण भइरहेका छन् । यो पीसीआर परीक्षण गराउनेको संख्या हो । एन्टीजेन परीक्षण त दशौं लाखमा भइरहेको छ ।

न्यूसाउथवेल्स राज्य सरकारले नयाँ नियमको बारेमा जानकारी दिनका लािग मोबाईल एलर्ट र सडकमा ईलेक्ट्रोनिक साईनबोर्ड लगाउने कार्य थालेको छ । जसमा एन्टीजेन परीक्षणपछि पीसीआर परीक्षण आवश्यक नहुने जानकारी समेटिएको छ ।

स्वास्थ्य अधिकारीहरुले परक्षिण गर्न आदेश दिएको अवस्थामा, कुनै लक्षण देखिएको अवस्थामा र क्लोज कन्ट्याक्ट रहेको अवस्थामा मात्रै पीसीआर परीक्षण गराउन पनि स्वास्थ्य विभागले सुझाएको छ ।

प्रिमियर पेरोटेले अझै पनि अनावश्यक रुपमा हजारौं मानिसहरुले परीक्षण गराइरहेको र यसले स्वास्थ्य क्षेत्रमा तनाव थपेको बताएका हुन् । काममा फर्किनुअघि पीसीआर परीक्षणका नतिजा ल्याउनुपर्ने नियम केही कार्यालयहरुमा लागू भएपछि यसको पनि उनले विरोध गरेका छन् र यसलाई अनावश्यक भनेका छन् । खोप लगाइसकेको व्यक्तिले लक्षण नदेखिँदासम्म परीक्षण गराउन आवश्यक छैन ।

निजी कम्पनीहरुले एन्टीजेन परीक्षणको शुल्क तिर्न वा पीसीआर परीक्षणको नतिजा ल्याउन भनेका छन् जसले गर्दा मानिसहरु पीसीआर परीक्षण गराउन पुगेका छन् । उनको तर्क छ ।

गएको २४ घण्टामा न्यूसाउथवेल्समा ३४ हजार ९ सय ९४ कोभिड १९ कोरोनाका नयाँ संक्रमित थपिएका छन् । कोभिड लागेका ६ जनाले पनि यो अवधिमा ज्यान गुमाएका छन् । यसमा २० वर्षीय एक युवा समेत रहेका छन् । जसले दुबै डोज कोभिडको खोप लगाएका थिए र अन्य कुनै रोग समेत थिएन । मृत्यु हुने अन्यमा एक ६० वर्षीय, अर्को ८० वर्षीय र अर्को ९० वर्षीय व्यक्ति भएको बताइएको छ । अस्पतालमा भर्ना हुनेको संख्या १६ सय ९ पुगेको छ भने भेन्टिलेसनमा ३८ जना छन् भने आईसीयूमा १ स्य ३१ जना छन् ।