नारायणहिटी रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठनको तयारी

नारायणहिटी रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठनको तयारी


काठमाडौं २२ पुस । बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयको मूल गेटमा सञ्चालन गर्न दिइएको रोयल बगैंचा रेस्टुरेन्ट ठेक्का छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा बिहीबार छानबिन समिति बनाउने भएको छ ।
समितिमा मन्त्रालयकै प्रशासन शाखा प्रमुख टेकनारायण पौडेल, कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा, लेखाका उपसचिव सूर्यमणि गौतमसहित ५ सदस्यीय प्रस्ताव गरिएको छ । समितिलाई एक साताभित्र अध्ययन गरी रायसहित प्रतिवेदन पेस गर्न दिइने जनाइएको छ ।
रेस्टुरेन्ट संचालनका लागि ०७७ पुस १७ गते नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पोखराको बतास समूहको बी म्यानेजमेन्टलाई तीन वर्षका लागि ठेक्का सम्झौता गरेका थिए । व्यापारिक पक्षलाई अधिकतम लाभ पुग्ने गरी प्रक्रिया मिलाएर ठेक्का दिइएको विवाद संचारमाध्यमबाट सार्वजनिक भएपछि पर्यटन मन्त्रालयले यो ठेक्का तत्काल रोक्न मंगलबार निर्देशन दिएको थियो ।