विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन प्रहरी नियन्त्रणमा, के हो यो भिसा ड्रामा ?

विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिच अष्ट्रेलियन प्रहरी नियन्त्रणमा, के हो यो भिसा ड्रामा ?

कानूनमाथि कोही हुन सक्दैन : स्कट मोरिसन



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियन ओपनको अघिल्लो संस्करणसहित विश्वका २० वटा ग्रान्डस्लाम उपाधि जित्न सफल विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचलाई सीमा सुरक्षा बलले नियन्त्रणमा लिई अष्ट्रेलियाबाट निकाला गर्ने तयारी गरेको छ । अष्ट्रेलियन बोर्डर फोर्सका अधिकारीहरुले ३४ वर्षीय खेलाडीलाई हिजो अबेर राति विमानस्थलबाट नियन्त्रणमा लिएका थिए ।

उनको भिसा रद्द गरिएको छ । खोप नलगाएको कारणले उनको भिसा रद्द गरिएको र उनलाई अष्ट्रेलिया प्रवेशमा रोक लगाइएको हो । तर, नोभाकले भिक्टोरियन राज्य सरकारबाट अष्ट्रेलियन ओपनमा सहभागी हुन भिसा छुट पाएका थिए । बोर्डर फोर्सले विज्ञप्ति जारी गर्दै कुनैपनि गैरअष्ट्रेलियन नागरिक जसको भिसा रद्द भएको छ त्यस्तो व्यक्तिलाई हिरासतमा राखिन्छ र अष्ट्रेलिया निकाला गरिने उल्लेख छ ।

यता प्रधानमन्त्री स्कट मोरिसनले पनि सीमा सुरक्षा बलको कार्यलाई समर्थन गर्दै कुनैपनि नियम सबैका लागि समान हुने धारणा राखेका छन् ।
यस्तो छ उनको ट्वीट ।

अर्कोतिर नोभाकको देश सर्वियाका राष्ट्रपति तहसम्म पनि यो विषयले प्रवेश पाइसकेको छ भने कुटनीतिक माध्यमबाट गर्नसक्ने सबै उपाय अवलम्बन गर्ने उनले बताएका छन् । खासमा के हो त यो ड्रामा ? टेनिस अष्ट्रेलिया र भिक्टोरिया राज्य सरकारले जोकोभिचलाई कोभिड विरुद्धको खोप नलगाए पनि अष्ट्रेलिया प्रवेश पाउनसक्ने गरी छुट दिने निर्णय गरेका थिए । जसले उनको अष्ट्रेलिया यात्रा र आफ्नो अष्ट्रेलियन ओपन टाईटलको उपाधि रक्षाको प्रयासमा सकारात्मक सुरुवात भएको थियो । उनको कोच, समर्थकहरुको टिम यसअघि नै अष्ट्रेलियामा आइसकेका छन् ।

अष्ट्रेलियन ओपनसहित २० वटा ग्रान्ड स्लाम उपाधि ज्त्निे खेलाडीको सूचिमा रोजर फेडेरर, राफेल नाडाल पनि उनीसँगै छन् । यसको अर्थ अष्ट्रेलियन ओपनमा नोभाकले सहभागिता नजनाएको अवस्थामा यो उपाधिको स्वत दावेदार राफेल नाडाल हुनेछन् । किनकि रोजर फेडेरर चोटका कारण सहभागी हुने छैनन् । यता नोभाकका समर्थकहरुले मेलबर्न एयरपोर्टमा भेला भएर उनीमाथि गरिएको कारवाही र दुव्र्यवहारको विरोध गरेका छन् । यस घटनाले टेनिसप्रेमीहरुलाई निरास बनाएको उनीहरुको तर्क छ ।

खासमा विश्व नम्बर एक खेलाडीमाथि भएको यो पछिल्लो घटनाले अष्ट्रेलियाको संघीय सरकार र राज्य सरकारहरुबीचको तानातान सतहमा देखिएको छ । अष्ट्रेलिया प्रवेशमा खोप अनिवार्य भनिएपनि विविध स्वास्थ्य सम्बन्धी कारणले खोप लगाउन नमिल्ने भए उनीहरुलाई छुट दिन सकिने व्यवस्था छ । यो नियम नोभाकले कहाँ तोडे ?

अष्ट्रेलियन टेनिस र भिक्टोरिया राज्य सरकारले किन उनलाई छुट दिए ? यी प्रश्नको उत्तर खोज्दै जाँदा अष्ट्रेलियाको आन्तरिक राजनीति सतहमा देखिने केही विश्लेषकहरुले बताएका छन् ।