एमाले अध्यक्ष ओलीको गुनासोः सञ्चारमाध्यमले सरकारलाई खबरदारी नै गरेनन् !

एमाले अध्यक्ष ओलीको गुनासोः सञ्चारमाध्यमले सरकारलाई खबरदारी नै गरेनन् !


काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमले खबरदारी नगरेको गुनासो गर्नुभएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा सोमबार आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा एमाले अध्यक्ष ओलीले सञ्चारमाध्यमहरुले खबरदारी नगर्दा सरकार लापरवाह हुने बताउनुभएको हो । उहाँले अहिलेको सरकार लापरवाह भइरहेको आरोप लगाउँदै सञ्चारमाध्यमले खबरदारी गर्नुपर्ने बताउनुभयो । सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम मौन रहेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री हुँदा सम्पादकहरूबाट जुन सहयोग पाएँ, म त्यसका लागि धन्यवाद भन्न चाहन्छु । यहाँहरूले सजग गराउनुभयो, खबरदारी गर्नुभयो, ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित ग¥यो ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले सदन छलेर दल फुटाउने अध्यादेश ल्याएको बताउँदै त्यसले संविधानको उल्लंघन गर्नुका साथै लोकतन्त्रको सामान्य मान्यताहरु भत्काएको जिकिर गर्नुभयो । ‘एमाले फुटाउने काम सकिएछ अनि अध्यादेश फिर्ताको सूचना निकालियो’, उहाँले भन्नुभयो ।