भिक्टोरियामा ३ करोड ४० लाख एन्टीजेन टेष्ट किट आइपुग्दै, निःशुल्क बाँडिने

भिक्टोरियामा ३ करोड ४० लाख एन्टीजेन टेष्ट किट आइपुग्दै, निःशुल्क बाँडिने

प्रधानमन्त्री मोरिसनले परीक्षण किट खरिद गर्ने कार्य राज्य सरकारहरुको भएको बताएका छन्


मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरिया राज्य सरकारले केही साताभित्रै तीन करोड ४० लाख कोभिड १९ एन्टीजेन टेष्ट किट खरिद गरेर आफ्ना बासिन्दालाई निशुल्क बाँड्ने भएको छ । कोभिड लागेकाहरुसँगको क्लोज कन्ट्याक्टमा रहेकाहरु र अन्य कारणले परीक्षण गराउनुपर्नेहरुले आफ्नो परिचयपत्र दिएर उचित कारण दिन सकेमा यस्तो परीक्षण किट निशुल्क प्राप्त गर्नेछन् । अहिले बजारमा बिक्री हुँदै आएको किटलाई पनि यथावत राखिने यहाँका स्वास्थ्यमन्त्री मार्टिन फोलीले जनाए ।

एन्टीजेन किटको वितरणका सम्बन्धमा अहिले सार्वजनिक नगरिएको भएपनि निशुल्क हुने भने निश्चित गरिएको छ । केही लेबर सांसदहरुले एन्ड्रयूज सरकारले एन्टीजेन किट भिक्टोरियनहरुलाई निःशुल्क दिन लागेको भनी आफ्ना सामाजिक सञ्जालहरुमा पोष्ट राखेका छन् ।

स्वास्थ्यमन्त्री फोलीले एन्टीजेन परीक्षण निःशुल्क हुनुपर्ने भन्दै राज्यले निःशुल्क वितरण गर्ने बताए । यतिबेला एन्टीजेन परीक्षण किट कालो बजारीमा बिक्री भइरहेको सम्बन्धमा केही सरकारी निकायहरुले अनुसन्धान गरिरहेका छन् ।

हाल यात्राअघि एन्टीजेन परीक्षणलाई समेत मान्यता दिइएपछि यसको माग अष्ट्रेलियाभर बढेको छ । प्रधानमन्त्री स्कट मोरिसनले परीक्षण किट खरिद गर्ने कार्य राज्य सरकारहरुको भएको भन्दै संघीय सरकारले यसमा पैसा दिन नसक्ने बताएका छन् । उनले निःशुल्क दिने या शुल्क लिएर यो निर्णय राज्य सरकारहरुले नै गरुन् भन्ने आशय व्यक्त गरेका थिए जसको आलोचना भइरहेको छ ।

उता संघीय सरकारले एज्ड केयर र अन्य स्वास्थ्य संस्थाहरु जुन संघीय सरकार अन्तर्गत पर्दछन् तिनीहरुको लागि ५ करोड किट खरिद प्रक्रिया अघि बढाएको छ ।