राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन साझाको माग

राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवस’ का रूपमा मनाउन साझाको माग

राप्रपाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी राष्ट्रिय एकता दिवसलाई भव्यताका साथ राज्यले नै मनाउनुपर्ने माग गरेको थियो ।


काठमाडौं ।

विवेकशील साझा पार्टीले पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई ‘नेपाल दिवसका रूपमा मनाउन माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै प्रवक्ता शरद पाठकले संसारका अधिकांश देशहरूमा विशिष्ट महत्त्वको निश्चित दिनमा राष्ट्रिय दिवस मनाइने गर्दछ, जुन स्थायी हुन्छ। नेपालका हकमा हाम्रो निश्चित राष्ट्रिय दिवस छैन। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस नै ‘नेपाल दिवस’ का लागि सबैभन्दा उपयुक्त दिन हुनसक्छ भन्ने पार्टीको धारणा रहेको बताएका छन् ।

उनले भनेका छन्, “संसारका कुनै पनि एकीकरणकर्ता विवादरहित हुँदैनन् र छैनन्। तर तिनै विवादलाई लिएर पृथ्वीनारायण शाहको अवमूल्यन गर्नु उपयुक्त हुँदैन। उनको दूरदर्शिता र दिव्य उपदेश शान्त, स्वाभिमानपूर्ण, सार्वभौमसत्ता सम्पन्न र संवृद्ध नेपाल निर्माणका लागि आज पनि उत्तिकै सान्दर्भिक छ।”

विवेकशील साझाले राप्रपासँग एकीकरणको तयारी गरिरहेको छ । केही दिनअघि राप्रपाले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी राष्ट्रिय एकता दिवसलाई भव्यताका साथ राज्यले नै मनाउनुपर्ने माग गरेको थियो ।

यता साझाले पनि राष्ट्रिय एकता दिवसका दिन सार्वजनिक बिदा दिइयोस् भनी माग थपेको छ । त्यसै गरी, नेपाली रुपैयाँमा पृथ्वीनारायण शाहको तस्बिर अङ्कित गरियोस् र हरेक सरकारी कार्यालयमा ससम्मान उनको तस्बिर राख्न निर्देशन दिइयोस् भन्ने माग पनि विवेकशील साझाको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसर पारेर विवेकशील साझा पार्टीले पौष २७ गतेदेखि ‘मेची(महाकाली राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ ।

उक्त यात्रा माघ १६ गते शहीद दिवसका दिन अन्त्य हुनेछ।