महिला टी-२० क्रिकेट : मलेसियाँसग नेपाल चार विकेटले पराजित

महिला टी-२० क्रिकेट : मलेसियाँसग नेपाल चार विकेटले पराजित


काठमाडौँ ।

महिला टी–२० क्रिकेट प्रतियोगिताको चौथो खेलमा नेपाल मलेसियासँग चार विकेटले पराजित भएको छ। मलेसियामा जारी द्विदेशीय श्रृङ्खलाको शनिबार बिहान भएको खेलमा नेपालले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पूरा गरेको हो।

मलेसियाका लागि विनफ्रेड अन्ना दुरासिगमले ३८, महिरा इजाति इस्माइलले १६ र यास्मिन जुल्किफिलले १३ रन बनाउँदा नेपाल चौथो खेलमा पराजित हुन पुगेको हो। नेपालले यसअघि दोस्रो र तेस्रो खेलमा भने क्रमशः ७ विकेटले र २७ रनले विजयी भएको थियो।

आजको खेलमा नेपालका लागि कविता कुँवर, रुविना क्षेत्री, सिता राना मगर र कविता जोशीले एक–एक विकेट लिए पनि नेपालको जीतका लागि पर्याप्त भने हुन सकेन।

टस जितेर ब्याटिङ रोजेको नेपालले सात विकेटको क्षतिमा ९६ रन बनाएको थियो। नेपालका लागि इन्दु बर्माले ३२, विन्दु रावलले २४ र कविता कुँवरले १२ रन बनाएका थिए।

पाँच खेलको श्रृङ्खलामा दुवै टोलीले दुई(दुई खेलमा जीत हासिल गरेका अब अन्तिम खेल जित्ने टोलीले श्रृङ्खला जित्नेछ। जसका लागि बिजयको लक्ष्य सहित दुवै टोली आइतबार अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैछन।