न्यूसाउथवेल्समा १८ र भिक्टोरियामा ७ हजार नयाँ कोरोना संक्रमित

न्यूसाउथवेल्समा १८ र भिक्टोरियामा ७ हजार नयाँ कोरोना संक्रमित



मेलबर्न, अष्ट्रेलिया ।

सन् २०२२ को नयाँ वर्षको दिन न्यूसाउथवेल्समा १८ हजार २ सय ७८ जना र भिक्टोरियामा ७ हजार १ सय ७२ जनालाई कोरोना संक्रमण भएको छ । आईतबार सार्वजनिक तथ्यांक अनुसार यी दुई राज्यमा कोरोनाकै कारण पाँच जनाको ज्यान गएको छ ।

भिक्टोरियामा कोरोना लागेका अधिकांशलाई ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । यससँगै राज्यमा ३१ हजार ४ सय ६१ कोरोना संक्रमित संख्या पुगेको छ भने ७ सय १५ जनाले पछिल्लो कोरोना संक्रमणमा ज्यान गुमाएका छन् । अस्पतालमा ४ सय ७२ जना भर्ना भएको र २२ जना भेन्टिलेटरको सहायतामा रहेको पनि स्वास्थ्य अधिकारीहरुको भनाई छ । नयाँ वर्षको दिन ४८ हजार २ सय ५२ जनाले मात्रै कोरोना परीक्षण गराएका थिए । अघिल्लो दिन यो संख्या ६३ हजारभन्दा बढी थियो ।

उता न्यूसाउथवेल्समा ९० हजार १९ परीक्षण गर्दा १८ हजार २ सय ७८ जनालाई कोरोना संक्रमण देखिएको छ । अस्पतालमा भर्ना हुनेको संख्या १ हजार ६६ पुगेको छ ।

यसैबीच तास्मानियामा ४ सय ४ नयाँ कोरोना संक्रमित गएको २४ घण्टामा फेला परेका छन् । यसअघि यो ४ सय २८ थियो । उता अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा एकैदिन ५ सय ६ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यससँगै क्यानबेरामा १८ सय २७ कोरोना संक्रमितको संख्या पुगेको छ । यहाँका ९८ दशमलब ५ प्रतिशत १२ वर्षमाथि उमेर समूहको जनसंख्याले दुबै डोज खोप लगाइसकेका छन् । क्वीन्सल्याण्डमा ४ हजार ५ सय ८७ कोरोना संक्रमित गएको २४ घण्टामा मात्रै थपिएका छन् भने कूल संक्रमित संख्या १६ हजार ६ सय ८८ पुगेको छ ।