क्यानबेरामा एभरेष्ट डे, पूर्वप्रधानमन्त्री माधव नेपालले भने ‘आफ्नो ईतिहास नबिर्सिनुस्’

क्यानबेरामा एभरेष्ट डे, पूर्वप्रधानमन्त्री माधव नेपालले भने ‘आफ्नो ईतिहास नबिर्सिनुस्’


क्यानबेरा अष्ट्रेलिया ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफुले विदेशमा बस्ने नेपालीहरुलाई सदैव आफ्नो ईतिहास, भाषा, संस्कार नबिर्सिन आग्रह गर्ने गरेको बताएका छन् । अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा फेडरेसन अफ नेप्लीज अर्गनाईजेसन ईन अष्ट्रेलिया फेन्काले आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका पूर्वप्रधानमन्त्री नेपालले ७० वर्षअघि जुन बेला सर एडमन्ड हिलारी र तेन्जींग नोर्गेले सगरमाथाको आरोहण गरेका थिए त्यही वर्ष आफ्नो समेत जन्म भएको भन्दै हालसम्म सगरमाथा आरोहण गर्ने सबै हिरो भएको बताए ।

उनले सय जनाभन्दा बढी अष्ट्रेलियालीहरुले सगरमाथा आरोहण गरिसकेको उल्लेख गर्दै सगरमाथामा बनेका विभिन्न रेकर्डले संसारमा गर्न केही पनि असम्भव नभएको स्मरण गराउने बताएका थिए । उनले हालै दुबै खुट्टा नभएपनि कृत्रिम खुट्टाको सहायतामा हरि बुढामगरले गरेको साहसी आरोहणका बारेमा पनि उपस्थितलाई जानकारी गराएका थिए । उनले आफुले जहाँ जाँदा पनि त्यहाँका नेपालीहरुलाई आफ्नो लामो ईतिहास, आफ्नो भाषा, संस्कृति भुल्न नहुने बताउने गरेको र उनीहरुले आफ्ना सन्तानलाई पनि आफ्नो संस्कार र परम्पराबारे अवगत गराउनुपर्ने बताएका थिए ।

कार्यक्रममा बोल्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा सर्वोच्च शिखर सगरमाथा सहित नेपालका विभिन्न हिमालको आरोहण गर्ने आरोहीहरुको साथले यो दिवस अझ विशेष बनेको बताएका थिए ।
कार्यक्रममा अष्ट्रेलियाका संघीय सांसद डेभिड स्मीथसहित चार आरोहीहरुले पनि सहभागिता जनाएका थिए ।

फेन्काका अध्यक्ष कृष्ण हमालको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै हमालले उपस्थित सबैलाई धन्यवाद दिँदै अष्ट्रेलियाका सबै शहरमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको र यसलाई हरेक वर्ष निरन्तरता दिइने जानकारी गराएका थिए ।

७० औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा न्यूजिल्याण्डमा हुने कार्यक्रममा भाग लिन आफ्नी श्रीमति गायत्री नेपालसँगै आएका पूर्वप्रधानमन्त्री नेपाल सोमबार त्यसतर्फ जाने कार्यक्रम छ । नेपाली दूतावास क्यानबेरामा रहनुभएका नेपाल दम्पत्ति नेपाल कम्युनिष्ट पार्टी समाजवादीको प्रवासी भ्रातृ संगठनले सिड्नीमा आयोजना गर्ने एक कार्यक्रममा समेत सहभागी हुने तय भएको छ ।