अष्ट्रेलियामा एकैदिन एक लाखसम्म कोरोनाका नयाँ संक्रमित थपिने आंकलन

अष्ट्रेलियामा एकैदिन एक लाखसम्म कोरोनाका नयाँ संक्रमित थपिने आंकलन



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको सबैभन्दा बढी जनसंख्या बसोबास गर्ने न्यूसाउथवेल्स राज्यमा गएको २४ घण्टामा २२ हजार ५ सय ७७ नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै पाँच जनाले ज्यान गुमाएका छन् भने अस्पतालमा भर्ना हुनेको संख्या ९ सय १ रहेको छ जसमध्ये ७९ जना आईसीयूमा उपचार गराइरहेका छन् । अघिल्लो दिन यो संख्या २१ हजार थियो ।

भिक्टोरियामा पनि अघिल्लो दिनकोभन्दा बढी संक्रमित भएका छन् । यहाँ गएको २४ घण्टामा ७ हजार ४ सय ४२ नयाँ कोरोना संक्रमित थपिएपछि कूल संख्या २४ हजार १ सय ६१ भएको छ । यो अवधिमा ६३ हजार २६ परीक्षण गरिएको थियो । नयाँ वर्षको कार्यक्रममा जमघट भएका व्यक्तिहरुलाई कोरोना संक्रमण कति भयो यो भने आईतबार थाहा हुनेछ ।

भिक्टोरियामा ९ जनाको मृत्यु भएको छ भने ४ सय ५१ जना अस्पतालमा छन् जसमध्ये ५१ जना आईसीयूमा छन् । यसैबीच, मोन्यास युनिभर्सिटीका अध्येताहरुले अष्ट्रेलियामा दैनिक एक लाख जनालाई कोरोना संक्रमण हुनसक्ने आंकडा प्रस्तुत गरेका छन् । केही साताभित्रै यस्तो विकराल स्थिति देखापर्ने उनीहरुको आंकलन छ ।

मोन्यास युनिभर्सिटीका डा. माईकल लेडिन्मोरले फेब्रुअरीमा कोरोना संक्रमणको उच्चतम विन्दु पुग्नेछ । अब अष्ट्रेलिलयामा कोभिड शून्य सफलता हासिल गर्न निकै समय लाग्ने पनि उनले बताएका छन् । न्यूसाउथवेल्स युनिभर्सिटीकी प्रोफेसर मेरी लुईस म्याकलजले भने सरकारी नीतिमा कोरोनाको उभार भर पर्ने बताएकी छिन् । सरकारले एन्टीजेन परीक्षणलाई निशुल्क गर्नुपर्ने पनि उनको तर्क छ । लेडिन्मोरको आंकलन मात्रै भएको र सरकारी निकायको सक्रियता र अष्ट्रेलियावासीको सजगताले यसलाई घटाउन सकिने उनको भनाई छ ।

यसैबीच, तास्मानियामा एकैदिन ४ सय २८ नयाँ कोरोना संक्रमित थपिएका छन् । अघिल्लो दिन यो संख्या मात्र १ सय ३७ थियो ।