भक्तपुरबाट एमाले अध्यक्ष ओलीको तीर प्रधानमन्त्री र प्रचण्डलाई

भक्तपुरबाट एमाले अध्यक्ष ओलीको तीर प्रधानमन्त्री र प्रचण्डलाई



नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र वरिष्ठ चिकित्सक गोविन्द केसीबीच भएको सम्झौतामा आपत्ति व्यक्त गरेका छन् । सरकारले केसीसँग नौ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीलाई सप्लाई गरी कारोबार चलाउनेहरुलाई साथ दिएको ओलीको टिप्पणी छ ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढने सपना बर्बाद पारेको आरोप लगाए ।

उनले केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौताले विदेशमा पैसा र छोरीछोरी पठाउने कम्पनीलाई फाईदा पुगेको बताए । उनले स्कुल, कलेज बन्द गर्न सो सम्झौता भएको र त्यसबारे बुद्धिजीविहरुले मौनता साँधेको भन्दै आक्रोश व्यक्त गरे । सरकारकै कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको र बैंकहरुमा तरलताको अभाव देखिएको दाबीसमेत उनले गरे ।

ओलीले भने, ‘हिजो प्रधानमन्त्रीले एक जना कुन डाक्टरसँग नौं बुँदे सम्झौता गरे रे १ ७ वटा माग पूरा गर्न नौ बुँदे सम्झौता । त्यो सम्झौता किनभने यहाँ नर्सिङ क्याम्पस चलाउन पाईदैन । नत्र भने विदेशमा विद्यार्थी पठाउने कम्पनीहरु बर्बाद हुन्छन् ।’ अध्यक्ष ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति संकेत गर्दै इज्जत नभएकाहरु सधैँ सरकारमा रहने अवस्था रहेको भन्दै व्यङ्ग्य पनि गरे । उनले आफ्नो पार्टीले भने सरकारमा बसेर आफ्ना नीति कार्यान्वयन गर्दै अघि बढ्ने वा प्रतिपक्षमा रहेर गलत नीतिको विरोध गरेर देश र जनताको सेवा गर्ने गरेको बताए ।

अलिकति इज्जत छोड्ने हो भने त जहिले पनि सरकारबाट हटनु नपर्ने अवस्था छ । जस्तो प्रचण्डजीहरु हट्नु हुन्न । म हुँदा पनि उहाँहरु सरकारमै हुनुहुन्छ । काँग्रेस हुँदा पनि सरकारमै हुनुहुन्छ,’ उनले भने, ‘अलिकति इज्जत छोड्यो भने जहिले पनि सरकारमा बस्नुपर्ने खालको अवस्था । इज्जत साथमात्रै कि सरकारमा हुन्छ, कि प्रतिपक्षमा ।’

अध्यक्ष ओलीले माओवादी जनयुद्धका कारण रोजगारीको खोजीमा धेरैजसो युवा विदेश जानु परेको औंल्याउँदै अब त्यस्तो अवस्थाको अन्त्य भएको पनि बताए ।