काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरिएका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी बूढानीलकण्ठस्थित एक कार्यकर्ताको घरबाट पक्राउ परेका छन् ।
११ दिनअघिदेखि फरार उनी अर्घाखाँचीकै एक व्यक्तिको घरबाट आइतबार साँझ पक्राउ परेका हुन् । उनलाई जिल्लावासीले नै लुकाएर राखेको पाइएको र ती व्यक्ति उनकै कार्यकर्ता भएको बुझिएको प्रहरी जनाएको छ ।
रायमाझीले केही दिनअघि आफू बिरामी रहेको भन्दै संसदमा पत्र पठाएका थिए। रायमाझीको पत्र संसदमा लैजाने व्यक्तिको समेत खोजी गर्दै प्रहरीले शनिबारदेखि उनलाई नै ट्रयाक गरेको थियो।
वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि अनुसन्धानमा सहयोग गर्छु भन्दै रायमाझी भागेका थिए। अर्घाखाँचीबाट बुटवल फर्किने क्रममा रायमाझी वैशाख २० गते साँझ फरार भएका थिए।
उनलाई पक्राउ गर्न प्रहरीले देशभरका युनिटमा सर्कुलर गरेको थियो। भारत भागेको आशंकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोली पनि परिचालन गरिएको थियो । टोपबहादुर पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १३ जना पुगेको छ । अझै तीनजना फरार छन् ।
प्रतिक्रिया