अष्ट्रेलियाबाट ३० वर्षपछि नेपालमा उच्च भ्रमण, सहायक विदेशमन्त्री १६ मेमा नेपाल जाने

अष्ट्रेलियाबाट ३० वर्षपछि नेपालमा उच्च भ्रमण, सहायक विदेशमन्त्री १६ मेमा नेपाल जाने


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्स आगामी १६ तारिख दुई दिने औपचारिक भ्रमणको क्रममा नेपाल जाने हुनुभएको छ । अष्ट्रेलियाको तर्फबाट ३० वर्षपछि हुन लागेको औपचारिक भ्रमणलाई ऐतिहासिक र दुई देशको सम्बन्ध सुधारमा महत्वपूर्ण रुपमा लिइएको छ ।

सहायकमन्त्री वाट्सले भ्रमणअघि अष्ट्रेलियामा रहेको नेपाली समूदायका विभिन्न सदस्यहरुसँगको अन्तरक्रियालाई तिव्रता दिनुभएको छ । मेलबर्नका नेपाली समूदायका अगुवाहरुसँग केही दिनअघि अन्तरक्रिया गर्नुभएका सहायक विदेशमन्त्री टिमले बिहीबार अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलसँग भेट गर्नुभएको छ । भेटमा दुईदेशबीचको दौंत्य सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा छलफल भएको नेपाली दूतावास क्यानबेराले जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।

भेटपछि केविसीखबरसँग कुरा गर्दै अष्ट्रेलियाका लागि नेपाली राजदूत पोखरेलले व्यापार र लगानीको वातावरण निर्माण गर्नका लागि छुट्टै संयन्त्र बनाउनु अहिलेको प्रथमिकता भएको आफुले जानकारी गराएको बताउनुभयो । राजदूत पोखरेलले यस्तो संयन्त्रको निर्माणले दुई देशको सरकारी तहमा र निजी क्षेत्रको तहमा समेत सम्बन्ध सुधार र दुईदशबीच लगानी र व्यापार अभिबृद्धिमा कदम अघि बढ्ने आफ्नो विश्वास रहेको समेत बताउनुभयो । यस्तै भेटमा दुईदेशबीचको हवाई सेवा, नेपाली विद्यार्थीहरुले भोग्दै आएका विभिन्न समस्याहरु र यस किसिमका उच्चस्तरीय भ्रमणको निरन्तरताको विषयमा समेत आफुले धारणा राखेको राजदूत पोखरेलले जानकारी दिनुभयो ।

हेर्नुस् भेटपछिको विज्ञप्ति

यसअघि भिक्टोरियाको नेपाली समूदायसँको भेटमा सहायमन्त्री वाट्सले धेरै समयपछिको औपचारिक भ्रमणमा सम्बन्ध सुधारका लागि अष्ट्रेलियामा बसोबास गर्ने नेपाली मूलका अष्ट्रेलियनहरुको धारणा बुझ्न चाहेको बताएका थिए । भेटमा सहभागी भिक्टोरियाको नेपाली समूदायका अगुवा जोग लिम्बुले सहभागी भएका नेपाली समूदायका सदस्यहरुले दुई देशको सम्बन्ध सुधारमा आफुहरुले धारणा राखेको बताएका छन् । केविसीखबरसँग कुरा गर्दै लिम्बुले कृषि, वाणिज्य, आयात निर्यात, विद्यार्थीका समस्य लगायतको विषयमा भ्रमण केन्द्रित हुनुपर्ने सुझाव दिएको बताए । नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष प्रेमराज उप्रेतिले विद्यार्थीको मानसिक स्वास्थ्य र सुरक्षा सम्बन्धी विषयमा दुबै देशका सरकारको ध्यान जानुपर्ने धारणा राखेका थिए ।


सहायमन्त्री वाट्ससँगको भेटमा नेपाल अष्ट्रेलिया संसदीय समितिका संयोजक एवं संघीय सांसद पिटर खलिल सहभागी थिए भने भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, न्याभका अध्यक्ष प्रेमराज उप्रेति, फेन्काका उपाध्यक्ष बम योन्जन, एनआरएन अष्ट्रेलियाका पूर्वअध्यक्ष केशव कँडेल, एएनपीएलका अध्यक्ष निराजन गौली लगायत सहभागी थिए । अष्ट्रेलियामा ठूलो संख्यामा विद्यार्थी नेपालबाट आइरहे पनि उनीहरुका समस्याहरुको बारेमा भने यहाँको सरकारले खासै चासो नदिएको गुनासो लामो समयदेखि नेपाली विद्यार्थीहरुमाझ रहँदै आएको छ । भिसा प्रक्रियामा सहजताका साथै नेपालबाट नै भिसा जारी गर्ने माग पनि समूदायले राख्दै आएको छ । यस्तै नेपालको वन संरक्षण क्षेत्रमा महत्वपूर्ण योगदान दिएको अष्ट्रेलियाले कृषिको आधुनिकीकरणमा समेत सहकार्य गरोस् भन्ने नेपाली पक्षको धारणा रहिआएको छ । नेपालबाट कृषिजन्य वस्तुहरुको आयात अष्ट्रेलियामा गर्नका लागि सहज हुनुपर्ने धारणा व्यवसायीहरुले लामो समयदेखि राखिरहेका छन् । यसले नेपालले भोग्दै आएको व्यापार घाटा समेत कम गर्न सकिने उनीहरुको धारणा छ । नेपाल र अष्ट्रेलियाबीच दौंत्य सम्बन्ध स्थापनाको ६ दशक पूरा भइसकेको छ । अष्ट्रेलियामा करिब २ लाखको हाराहारीमा नेपालीभाषीहरु बसोबास गर्दछन् ।