पुसे झरीले जाडो बढायो, हिउँदे बालीलाई भने फाइदा

पुसे झरीले जाडो बढायो, हिउँदे बालीलाई भने फाइदा


काठमाडौं, १४ पुस । देशैभर हिउँदे झरी तथा हिमपात भएको छ । लामो समयदेखि पानी नपर्दा सुक्खा बढिरहेको बेला देशभरि नै झरीका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो । अहिले पनि देशभर मौसम बदली भएको छ भने धेरै ठाउँमा वर्षा पनि भइरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिसम्मै वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिउँदे झरी तथा हिउँ परेकाले किसानहरू खुसी भएका छन् । यसबेला हिउँ पर्दा लेकाली क्षेत्रमा गहुँ, जौ तथा आलुखेतीका लागि समेत राम्रो हुने किसानहरू बताउँछन् । यस्तै पहाड तथा तराईका जिल्लामा पनि गहुँ, तरकारी लगायतका बालीलाई सिँचाइ हुन्छ । यसबेलाको हिउँ तथा वर्षा हिउँदेबालीका लागि उपयोगी हुने किसानहरू बताउँछन् । यस्तै पानी परेका कारण देशभर बढेको वायु प्रदूषण पनि कम भएको छ ।
वर्षा र हिमपातका कारण चिसो भने बढेको छ । हिउँ परेका ठाउँका बासिन्दालाई घरबाहिर निस्कनै समस्या भएको छ भने चिसो देशभर नै बढेको छ । हिमाली क्षेत्रमा बर्सेनि यो मौसममा हिउँ पर्ने भएकाले मानिस तथा गाईवस्तुका लागि खानेकुरा र दाउरा लगायतको जोहो गरिएको हुनाले हिउँ परेका बेला धेरैजसो घरभित्रै बस्ने गर्छन् । अत्यावश्यक परेर हिँडडुल गर्नुपर्दा भने समस्या हुन्छ । यद्यपि काठमाण्डौ उपत्यका वरपरका डाँडाहरू– चन्द्रागिरि, चम्पादेवी, फुलचोकी लगायतका ठाउँमा हिउँ खेल्न जानेको भिड लागेको थियो । विभिन्न सहर र बस्ती नजिकैका ठाउँमा हिउँ खेल्न जानेहरू पनि उल्लेख्य रहेका छन् ।
यसैबीच वर्षा र हिमपातका कारण सडक तथा हवाई यातायात सेवा प्रभावित भएको छ । मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम खण्ड लगायत विभिन्न उच्च पहाडी र हिमाली क्षेत्रका सडकमा हिउँ जमेका कारण आवातजावातमा समस्या भएको छ । यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने आज बेलुकीका सबै आन्तरिक उडान रद्द भएका छन् । वायु सेवा कम्पनीहरूले सूचना निकालेर मौसम खराबीका कारण बेलुका ४ बजेपछिका सबै रात्रिकालीन उडान रद्द भएका जानकारी गराएका हुन् ।