कोरोना बढेर अष्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा दबाब थपेपछि अब ‘क्लोज कन्ट्याक्ट’को नयाँ परिभाषा

कोरोना बढेर अष्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा दबाब थपेपछि अब ‘क्लोज कन्ट्याक्ट’को नयाँ परिभाषा



मेलबर्न, अष्ट्रेलिया ।

एकै दिन १८ हजारभन्दा बढी कोरोनाको संक्रमित थपिएपछि अष्ट्रेलिया सरकारले कोभिड लागेका र तिनको क्लोज कन्ट्याक्टलाई पुनः परिभाषित गर्ने तयारी गरेको छ । हाल कोरोना लागेको व्यक्तिसँग भेटेकै आधारमा वा त्यही क्षेत्रमा गएका आधारमा समेत आईसोलेसनका लागि पठाइने गरेको अबदेखि भने कम्तिमा पनि चार घण्टा घर वा यस्तै संरचनामा सँगै बसेको व्यक्तिलाई मात्रै क्लोज कन्ट्याक्ट लिष्टमा राखिने भएको छ । यस सम्बन्धी निर्णय गर्नका लागि आज आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाइएको छ ।

यसरी चार घण्टा बिताएको व्यक्तिले पनि सात दिन मात्रै आईसोलेसनमा बस्नुपर्नेछ । छैठौंं दिन एन्टीजेन कोरोना परीक्षण गर्ने र त्यो परीक्षण नेगेटिभ आएमा बाह्रौं दिनमा अर्को र्यापीड टेष्ट गरेपछि ऊ स्वतन्त्र रुपमा घुमफिर गर्न पाउनेछ ।

बुधबार न्यूसाउथवेल्समा मात्रै ११ हजार कोरोनाका नयाँ संक्रमित थपिएका थिए । तर, खुशीको कुरा त्यसमध्ये १३ सय १४ जना मात्रै अस्पताल भर्ना भएका छन् । यसको एकमात्र कारण ओमिक्रोन डेल्टाभन्दा मन्द प्रकारको रहेकोले भएको बताइन्छ । तर, यसको फैलावट भने एकदमै तिव्र गतिमा भइरहेको छ ।

यसैबीच, सरकारले एन्टीजेन परीक्षणका लागि राज्य सरकारसँग आधा आधा सहकार्यको प्रस्ताव राखेको छ । यसको अर्थ एन्टीजेन परीक्षणका लागि लाग्ने खर्च राज्य सरकार र संघीय सरकारले आधा आधा व्यहोर्नुपर्नेछ ।

अब अष्ट्रेलियामा पीसीआर परीक्षण कन्फर्म भाईरस संक्रमित या कडा खालका लक्षणहरु देखिनेहरुका लागि मात्रै गर्ने तयारी छ ।