भिक्टोरियामा एकैदिन २७ सय ३८ नयाँ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

भिक्टोरियामा एकैदिन २७ सय ३८ नयाँ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा कोरोना संक्रमणका २७ सय ३८ नयाँ संक्रमित थपिएका छन् भने यो अवधिमा ४ जनाले ज्यान गुमाएका छन् ।

अस्पतालमा रहेका संक्रमितको संख्या ३ सय ६१ पुगेको छ । यसमध्ये ३३ जना भेन्टिलेटरमा र ६९ जना आईसीयूमा छन् । हिजो ६६ हजार ६ सय ८३ व्यक्तिहरुले कोरोनाको परीक्षण गराएका छन् । दुई हजारभन्दा बढी दैनिक संक्रमणको एक साता बितेको छ भने राज्यमा संक्रमितको संख्या १७ हजार ८ सय २१ पुगेको छ ।

उता विभिन्न राज्यमा यात्रा गर्नका लागि समेत परीक्षण गराउनुपर्ने भएपछि र चाडवाडको कारणले कतिपय परीक्षण स्थलहरुमा कार्यअवधि घटाइएको छ भने कतिपय बन्द गरिएको छ । यसको सट्टा एन्टीजेन टेष्टलाई समेत मान्यता दिने विषयमा छलफल जारी छ ।

यसैकारण संघीय अर्थमन्त्री जोस फेड्रेनबर्गले एन्टीजेनलाई मान्यता दिन राज्य सरकारहरुलाई आग्रह गरेका छन् ।

यस्तो भएमा यात्रा गर्नुपूर्व आफैंले परीक्षण गर्ने र त्यसको नतिजा पेश गर्दा हुन्छ । “यो सस्तो छ, छिटो छ र सबैभन्दा महत्वपूर्ण कुरा यसले हाम्रो स्वास्थ्य प्रणालीमा कुनै दबाब सिर्जना गर्दैन”, उनले भनेका छन् ।