माओवादी महाधिवेशनमा प्रधानमन्त्री देउवाले भने– ‘एमसीसी राष्ट्रघाती छैन, पास गर्नुपर्छ’

माओवादी महाधिवेशनमा प्रधानमन्त्री देउवाले भने– ‘एमसीसी राष्ट्रघाती छैन, पास गर्नुपर्छ’


काठमाडौं, ११ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालको हितमै रहेको दाबी गर्नुभएको छ । काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको बताउनुभएको हो । उहाँले एमसीसी राष्ट्रघाती भन्नेहरुले पढेका छन् कि छैनन् भनेर प्रश्न गर्नुभयो ।
‘राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन । पहिले पढ्नुप¥यो एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहिँ देखेको छैन,’ उहाँले भन्नुभयो, ‘म पनि नेपालको प्रधानमन्त्री हुँ । म नेपाल राष्ट्रको खिलापमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन । राष्ट्रघात गरौंला ।’ उहाँले एमसीसीबारे आफूहरु (सत्तारुढ दलहरु)बीच छलफल भइरहेको बताउनुभयो । ‘प्रचण्डजीहरु, अरु नेताहरुसँग छलफल गरिरहेका छौं,’ उहाँले भन्नुभयो, ‘एमसीसी नेपालको हितमा छ । सित्तै आएको पैसा हो यो । सित्तै आएको पैसा चाहिन्न भन्छ !’
‘वल्र्ड बैंक एडीबीबाट हामी ऋण लिन्छौं, त्यसमा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ । एमसीसी सित्तै आएको छ, नेपालको कानुन मान्छु भन्या छ, तैपनि मान्दैन । राम्रोसँग बुझ्नुप¥यो क्या !’ व्यापक छलफल भएर सहमतिका आधारमा एमसीसी पास हुने आफ्नो विश्वास रहेको उहाँले बताउनुभयो ।