Logo

ए डिभिजन लिगः मनाङलाई हराएर मच्छिन्द्र शीर्ष स्थानमा



काठमाडौं, १० पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले हराएको छ । यो जितपछि मच्छिन्द्र मनाङलाई उछिनेर शीर्ष स्थानमा पनि पुगेको छ । सुनिल बलको उत्कृष्ट निर्णायक गोलको मद्दतमा मच्छिन्द्रले जित हात पारेको हो । सुनिलले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरेका हुन ।
मछिन्द्रको १४ अंक भएको छ भने दोस्रो स्थानमा झरेको मनाङ १३ अंकमै सीमति रह्यो । दशरथ रंगशालामा उपस्थित १० हजार दर्शक अगाडि प्राप्त यो जितपछि मछिन्द्रले एएफसी कप छनोटको सम्भावना पनि बढाएको छ । सातौं चरणको शीर्ष स्थानमा रहनेले एएफसी कप छनोट खेल्नेछ । खेल गोलरहित बराबरीतर्फ अग्रसर भएको बेला सुनिलले लामो दूरीबाट कडा प्रहार गर्दै गोल गरे ।
यसअघि शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा च्यासललाई २–१ ले हराएको थियो । त्यसमा हिमालयका लागि मुताम्बा पिस्टोनले दुई गोल गरे भने एक गोल सुरेश कुमालको नाममा रह्यो । च्यासलका तर्फबाट रुमेश बर्तौलाले एक गोल गरे ।
हिमालयको यो लगातार दोस्रो जित हो । यो जितपछि हिमालयन ६ खेलबाट आठ अंकमा छैटौं स्थानमा छ । च्यासल भने ६ खेलबाट चार अंकमै सीमित रहेर पुछारबाट दोस्रो स्थानमा रह्यो । लगातार तेस्रो हारले च्यासलमाथि रेलिगेसन दबाब बढेको छ ।