नेपालमा विभिन्न कार्यक्रम गरी ‘क्रिसमस डे’ मनाइयो

नेपालमा विभिन्न कार्यक्रम गरी ‘क्रिसमस डे’ मनाइयो


काठमाडौं, १० पुस । क्रिश्चियन धर्मावलम्बीहरुको विशेष दिन हो आज । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिन । क्रिश्चियन धर्मावलम्बीहरुले आज क्रिसमस डे धुमधामसँग मनाए । क्रिसमसको अवसरमा राजधानीका विभिनन स्थानमा विभिनन कार्यक्रमहरुको आयोजना गरी अन्य धर्मावलम्बीहरुले पनि क्रिसमस मनाएका छन् ।
जावलाखेलस्थित सेन्ट मेरिज विद्यालय परिसरमा हरेक वर्ष क्रिसमस उल्लासमयका साथ मनाउने गरिन्छ । विद्यालयका सुपेरियर सिस्टर जेसी सी जे भन्नुहुन्छ, ‘क्रिसमस इज सेयरिङ’ । उहाँका अनुसार, येशु ख्रीष्टको जन्मको वास्तविक तारिकको बारेमा कसैलाई पनि जानकारी छैन । क्रिसमस मनाउने परम्परा पुरानो हो ।
‘वी बिलिभ इन जिजस, आज उहाँको जन्मदिन,’ उहाँ भन्नुहुन्छ, ’मानवता बचाउनका लागि मानव जगतलाई येशु ख्रीष्ट भगवानले दिनुभएको उपहार हो । येशु ख्रीष्टले यो संसारमा जन्म लिनुभयो र अरुका निम्ति बाँच्नुभयो ।’
आजको दिन क्रिश्चियन धर्मावलम्बीहरु उपहार आदानप्रदान गरेर मनाउने गर्छन् । यो किनभने येशु ख्रीष्ट आफैंमा एक उपहार हो अर्थात् यो परम्परा अरुप्रति देखाइने माया र सद्भाव हो । यस्तै, सेन्ट मेरिजका भुतपूर्व विद्यार्थी सोनी जोशीले विगत १० वर्षदेखि सेन्ट मेरिजमा क्रिसमस मनाउँदै आउनुभएको छ । उहाँ भन्नुहुन्छ, क्रिसमसले उहाँका पुराना यादहरु ताजा बनाइदिन्छ ।
क्रिसमस विश्वभरका इसाई धर्माबलम्बीहरूले इसा मसिह अथवा येशु ख्रीष्टको जन्मदिनको उपल्क्षयमा मनाइने पर्व हो । ईसाईहरुको सबैभन्दा ठूलो यो पर्वमा विभिन्न किसिमका कार्यक्रमहरु गरी धुमधामका साथ मनाउने गरिन्छ । यो पर्व केवल ईसाईहरुले मात्रै नभएर गैर ईसाईहरुलेसमेत मनाउने गर्छन् ।
यो पर्वसँग जोडिएका विभिन्न किसिमका चिह्न एवं संकेतहरुको कारण पनि यो पर्व सबैको साझा पर्वको रुपमा विकास भइरहेको पाइन्छ । क्रिसमससँग जोडिएर आउने विभिन्न संकेतहरु छन् । जस्तै हरियो रुखमा हिउँ परेको आकृति, रातो र सेतो रंग मिसिएको सान्ताक्लज क्रिसमससँग जोडिएर आउने गर्छ ।