काठमाडौं, ११ असोज । दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फेरि ह्वात्तै बढेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार शनिबार नयाँ संक्रमितको संख्या ३ हजार २७३ पुगेको छ । योसँगै कोरियामा दैनिक संक्रमितको संख्या पहिलो पटक तीन हजार नाघेको छ ।
यहाँ गत सोमबारदेखि कोरियन दसैँ (छुसक) को तीनदिने बिदा थियो । यो बेला मानिसको अत्यधिक चहलपहल भयो । त्यसैले पनि यो अवस्था आएको अनुमान गरिएको छ । सरकारले उक्त समयमा सामाजिक दूरीको नियमलाई समेत हल्का खुकुलो बनाएको थियो ।
बिदाका अवसरमा लाखौँ मानिस आफ्नो कार्यस्थलबाट घर फर्किएकाले संक्रमितको संख्या बढेको हो । संक्रमणकै कारण कोरोना परीक्षण गर्नेको लाइन पनि लामो हुने गरेको छ । शुक्रबारको तुलनामा शनिबार कूल संक्रमितको संख्या ८३९ ले बढी हो । शनिबार थपिएका कूल संक्रमितमध्ये ३ हजार २४५ स्थानीय संक्रमित छन् भने बाँकी बाहिरबाट संक्रमित भइ आउने छन् ।
कोरोना संक्रमितको संख्या बढ्ने क्रमसँगै सरकारले खोप कार्यक्रमलाई पनि तीव्र गतिमा अगाडि बढाएको छ । हालसम्म ७० प्रतिशतभन्दा धेरैले पहिलो मात्राको खोप लगाइसकेका छन् भने दुवै मात्रा लगाउनेको संख्या ४२ प्रतिशत नाघेको छ । सरकारले दुई मात्राबीचको समयावधिलाई समेत छोट्याउनाका साथै दोस्रो मात्राको कार्यक्रमलाई समेत तीव्र पार्ने बनाएको छ ।
प्रतिक्रिया