बागमती प्रदेशमा चौथो पटक मन्त्रिपरिषद् विस्तार !

बागमती प्रदेशमा चौथो पटक मन्त्रिपरिषद् विस्तार !


काठमाडौं, ९ पुस । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेको सिफारिसमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रीमा मिलनबाबु श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, बलराम पौडेल तथा सन्तबहादुर प्रजा, रजनी अमात्य जोन्छे र कल्पना नेपालीलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
मन्त्रीमा नियुक्तिसँगै प्रदेश प्रमुख शर्माले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ । यस्तै राज्यमन्त्रीलाई प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्री पाण्डेले पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ । चौथो पटक विस्तारित मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरु र राज्यमन्त्रीले शुक्रबार साँझ नै मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
विस्तारित मन्त्रिपरिषद्मा मिलनबाबु श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, दीपेन्द्र श्रेष्ठले संस्कृति तथा पर्यटन मन्त्रालय, बलराम पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ। प्रजालाई भौतिक तथा पूर्वाधार विकास मन्त्रालय, जोन्छेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपालीलाई स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।
नेकपा (माओवाद केन्द्र), नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) को गठबन्धनको सरकारमा योसँगै चार राज्यमन्त्री र १४ मन्त्री पुगेका छन् । प्रदेशमा यसअघि आठवटा मन्त्रालय रहेकोमा गत मङ्सिरमा गठबन्धनको सरकारले मन्त्रालय फुटाएर १४ वटा पु¥याइएको थियो ।
प्रदेशको मन्त्रिमण्डलमा एकीकृत समाजवादीले मुख्यमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले पाँच मन्त्री तथा काँग्रेसले पाँच मन्त्री र तीन राज्यमन्त्री पाएको छ । गत कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका पाण्डेले पहिलो चरणमा चार सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको थियो ।
दोश्रो पटक कात्तिक २५ गते र तेश्रो पटक गत मङ्सिर २८ गते मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।