अष्ट्रेलियाभर कोभिडको संक्रमण यस्तो छ, न्यूसाउथवेल्समा मात्र एकैदिन ५ हजार ६ सय १२

अष्ट्रेलियाभर कोभिडको संक्रमण यस्तो छ, न्यूसाउथवेल्समा मात्र एकैदिन ५ हजार ६ सय १२



मेलबर्न, अष्ट्रेलिया ।

दुबै डोज खोप लगाउनेहरुको दर ९२ प्रतिशत पुगिसकेको अष्ट्रेलियामा यतिबेला तिव्र गतिमा कोरोना संक्रमित फैलिने क्रम बढेको छ । एकैदिन एउटै राज्यमा ५ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित थपिन थालेका छन् । चाडवाडको पूर्वसन्ध्यामा भएको यो बढोत्तरीले धेरैलाई चिन्तित बनाएको मात्र छैन फेरि लकडाउन हुने हो कि भन्ने त्रास पनि छ । तर, प्रधानमन्त्री स्कट मोरिसनले हाललाई अष्ट्रेलिया पछाडि नफर्कने बताइसकेका छन् । यसैकारण कम्तिमा पनि जनवरी १५सम्म कुनै लकडाउनको सम्भावना देखिँदैन ।

कस्तो भयो बिहीबार ?

वितेको २४ घण्टा अर्थात् बिहीबार न्यूसाउथवेल्समा गरीएका हजारौं परीक्षणमा ५ हजार ६ सय १२ नयाँ कोरोना संक्रमित भेटिएका छन् । अघिल्लो दिनको भन्दा करिब एक सय कम भएपनि यो संख्याले धेरैलाई चिन्तित तुल्याएको छ । यो राज्य १६ वर्षमाथिका ९४ दशमलब ९ प्रतिशतले खोप लगाइसकेका छन् । एकैदिन १ लाख ६४ हजार १ सय ४४ परीक्षणहरु गरिएको थियो ।

राज्य सरकारले ईन्डोर भेन्यूहरुमा अनिवार्य मास्क लगाउनपर्ने प्रावधान सुरु गरिसकेको छ भने क्वीआरकोडबाट मात्रै प्रवेश दिने व्यवस्था पनि लागू भइसकेको छ । यो कम्तिमा पनि जनवरी २७ सम्म कायम रहनेछ ।

यता भिक्टोरियामा एकैदिन २ हजार ९५ नयाँ कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा ८ जनाले ज्यान गुमाएका छन् भने राज्यमा अब १५ हजार ४ सय ७१ सक्रिय संक्रमित बाँकी रहेको तथ्यांक सार्वजनिक भएको छ । अस्पतालमा रहेकामध्ये ४० जना आईसीयूमा छन् ।

उता तास्मानिया राज्यमा २७ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यससँगै ७९ कोरोना संक्रमित संख्या राज्यमा गणना भएको छ भने ३७ जनालाई निगरानीमा राखिएको छ । यसमध्ये एकजनालाई अस्पताल भर्ना गरिएको छ ।