मेलबर्न अष्ट्रेलिया ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले रिजर्व बैंक अफ अष्ट्रेलियाका गभर्नर फिलिप विलियम लोसँग शुक्रबार क्यानबेरामा भेटवार्ता गरेका छन् । भेटका क्रममा उनीहरुबीच नेपाल र अष्ट्रेलियाको बैंकिङ संलग्नता सम्बन्धी सम्भाव्यताका विषयमा छलफल भएको दूतावासले जनाएको छ ।
सो अवसरमा राजदूत पोखरेलले अष्ट्रेलियामा नेपाली समुदाय बढ्दो क्रममा रहेकाे भन्दै अष्ट्रेलियाबाट नेपाल पठाउने रेमिट्यान्सको मोडलाई सहज बनाउन गभर्नर फिलिपसँग आग्रह गरेका थिए।
राजदूत पोखरेलको सो आग्रहलाई गभर्नर फिलिपले सकारात्मक रुपमा लिएको दूतावासले जनाएको छ । उनले गैरकानुनी रूपमा हुने हुण्डीको कारोबार राेक्न दुवै देशका वाणिज्य बैंकहरूबीच बैंकिङ सम्बन्ध स्थापना गर्ने कुरामा सहजीकरण गर्न पनि आग्रह गरेका थिए ।
उक्त भेटघाटमा अष्ट्रेलियन रिजर्व बैँकका सहायक गभर्नर मिशेल म्याकफी र जनरल कन्सुलर दीपककुमार खड्काको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया