एनआरएन अष्ट्रेलियाको चुनाव जुलाई २९ तारिख, प्रमुख आयुक्त टोनु घोताने

एनआरएन अष्ट्रेलियाको चुनाव जुलाई २९ तारिख, प्रमुख आयुक्त टोनु घोताने


सिड्नी, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी २३/२५ कार्यकालको लागि हुने निर्वाचन जुलाई २९ तारिख शनिबार गर्ने निर्णय भएको छ । अष्ट्रेलियामा गैरनाफामूलक संस्थाका रुपमा दर्ता गरिएको एनआरएनले यस निर्वाचनका लागि प्रमुख आयुक्तमा पूर्वअध्यक्ष टोनु घोतानेलाई अघि सार्ने भएको छ । यस विषयमा बोर्ड बैठकबाट निर्णय भई टुंगो लागिसकेको छ । टोनु घोताने कानून व्यवसायी हुन् भने उनी गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका विभिन्न पदमा कार्यरत भई अध्यक्षबाट बिदा भएपछि एनआरएन अष्ट्रेलियाको पोलिसि ईन्ष्टिच्युटमा अध्यक्षता गर्दछन् ।

यसअघिकै बैठकबाट गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले लागू गरेको एमआईएस सिष्टममा जाने निर्णय समेत संस्थाले गरिसकेको छ । जस अन्तर्गत अष्ट्रेलियामा रहेका सदस्यहरुको विवरण एनआरएन आईसीसीको केन्द्रीय सिष्टममा पठाउनुपर्नेछ । यसअघि एमआईएस सिष्टम लागू गर्ने विषयमा विवाद हुँदै आएको थियो ।

जति नै सुरक्षाको उपाय अपनाए पनि समूहमा सदस्य बन्ने बनाउने र तिनको मत सदस्य बनाउने समूहले नै हाल्ने गरेको आरोप एनआरएन अष्ट्रेलियामा लाग्दै आएको छ ।

सन् २०२१ को जुलाईमा भएको निर्वाचन मार्फत वर्तमान नन्द गुरुंग नेतृत्वको एनआरएन अष्ट्रेलिया कार्यसमिति चयन भएको थियो ।
आगामी कार्यकालको नेतृत्व चयनका लागि निर्वाचन पनि अनलाईन माध्यमबाट नै हुने भएको छ । यसअघि भेरो भोटिंगमार्फत एनआरएन अष्ट्रेलियाका करिब १५ हजार सदस्यहरुले मतदान गरेका थिए । जति नै सुरक्षाको उपाय अपनाए पनि समूहमा सदस्य बन्ने बनाउने र तिनको मत सदस्य बनाउने समूहले नै हाल्ने गरेको आरोप एनआरएन अष्ट्रेलियामा लाग्दै आएको छ ।

अष्ट्रेलियाको एनआरएनले सञ्चालन गरेको सोसियल वेलफेयर फन्ड सबैभन्दा लोकप्रिय कार्यक्रम हो । जस अन्तर्गत अप्ठेरोमा परेका अष्ट्रेलियामा बसोबास गर्ने नेपालीमूलका व्यक्तिहरुलाई आर्थिक सहयोग प्रदान गरिँदै आएको छ । अधिकांश सोसियल वेलफेयर फन्डका प्राप्तकर्ताहरु विद्यार्थीका रुपमा अष्ट्रेलियामा आई विभिन्न समस्यामा फसेकाहरु रहने गरेका छन् ।

एनआरएन अष्ट्रेलियाले गैरनाफामूलक संस्थाका रुपमा अष्ट्रेलियन सरकारका विभिन्न निकायहरुबाट आर्थिक सहयोग प्राप्त गर्दै आएको छ । यस कार्यकालमा एनआरएन अष्ट्रेलियाले यहाँका सबै ८ वटा राज्य र टेरेटोरीहरुमा नेपाल फेष्टिभल सम्पन्न गरेको छ । यसै अवधिमा पहिलो पटक तास्मानिया र क्यानबेरामा समेत नेपाल फेष्टिभल सम्पन्न भयो ।