काठमाडाैँ ।
एक पछि अर्को गर्दैं विकेट खसेपछि कमजोर देखिएको नेपालको अवस्थामा कुशल मल्लले राहत प्रदान गरेका छन् । शतकीय योगदानमा नेपाली टोलीका लागि राहत प्रदान गर्दै उनी विस्फोटक १ सय ८ रन बनाएर बाहिरिएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत ओमानविरुद्धको खेलमा मल्लले शतक प्रहार गरे । एक दिवशीय खेलमा यो उनको पहिलो शतक हो ।
एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा ओमानविरुद्ध शतक बनाउँदा उनले ५९ बलको सामना गरेर ९ चौका र ९ छक्काको सहयोगमा १ सय १ रन बनाएका थिए ।
स्पिनर अकिब इलियासलाई ३९ औं ओभरको पाँचौं बलमा छक्का हान्दै मल्लले शतक पूरा गरेका थिए । उनी नेपालबाट एक दिवशीय अन्तर्राष्ट्रिय खेल ओडिआईमा सर्वाधिक छिटो शतक हान्ने खेलाडी बनेका छन् । कुशलले २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान तोडेका नयाँ कीर्तिमान आफ्नो नाममा कोरेका छन् ।
समग्रमा उनी ओडिआईमा नेपालबाट शतक हान्ने छैटौं खेलाडी हुन् । यस अघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखपछि शतक बनाएका थिए । मल्ल ६४ बल खेलेर १ सय ८ रन बनाउँदै पेभेलियन फर्किएका छन् । नेपाल यो समाचार तयार पार्दासम्म ४५ ओभरमा ८ विकेट गुमाएर २ सय ५४ रन बनाएर खेलिरहेको छ ।
प्रतिक्रिया