आज मध्यरातपछि भिक्टोरियामा मास्क अनिवार्य

आज मध्यरातपछि भिक्टोरियामा मास्क अनिवार्य


मेलबर्न, अष्ट्रेलिया ।
क्रिसमस र नयाँ वर्षको बिदा सुरु हुने पूर्वसन्ध्यामा अष्ट्रेलियाको भिक्टोरिया राज्यमा पुनः मास्कसम्बन्धी नयाँ प्रावधान सुरु गरिएको छ । राज्यका कार्यवाहक प्रिमियर जेम्स मार्लिनोका अनुसार आज मध्यरातपछि अब ईन्डोर भेन्यूहरुमा मास्क अनिवार्य हुनेछ । यो नियम ८ वर्ष वा त्यसभन्दा माथि उमेरका सबैलाई लागू गरिएको छ ।

उच्चदरको कोभिड १९ कोरोना विरुद्धको खोपदर भएपनि राज्यमा एकैदिन २ हजारभन्दा बढी कोरोना संक्रमित थपिएपछि नयाँ नियम लगाइएको हो । योसँगै राज्यमा १४ हजार ८ सय १ सक्रिय संक्रमित पुगेका छन् । गएको अक्टोबरयता एकैदिन २ हजार नयाँ संक्रमित थपिएको या पहिलो पटक हो ।

गएको २४ घण्टामा मात्रै १० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । एकैदिन ८५ हजार १ सय १२ परीक्षणका नतिजाहरु प्राप्त भएको थियो ।

चाडवाडमा अन्य राज्यमा जानेहरुले परीक्षण गराएका कारण र कोभिडको फैलिँदो संक्रमणले गर्दा यतिबेला परीक्षण केन्द्रहरुमा २ घण्टाभन्दा लामो लाईन रहेको छ । परीक्षणमा आएकामध्ये ७५ प्रतिशत यात्राका लागि परीक्षण गराउन आएकाहरु भएको अधिकारीहरुले जनाएका छन् ।

यसको विकल्पका रुपमा एन्टीजेन परीक्षण गराइएपनि यो त्यति भरपर्दो नभएको पाइएको छ ।