काठमाडौं ।
नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर विदेश पठाउन खोज्ने समूहका थप एक सदस्य पक्राउ परेका छन् । शक्ति र पहुँचको आडमा नक्कली शरणार्थी बनाएर मोटो रकम असुल्न खोज्ने गिरोहका अर्का एक सदस्य सन्देश शर्मा पक्राउ परेका हुन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको हो ।
कार्यालयका प्रमुख एसएसपी डाक्टर मनोज कुमार केसीले भने ‘यो घटनाको अनुसन्धान जारी छ । आजथप एक जनालाई पक्राउ गरिएको छ । उसलाई कानूनी कारबाहीका लागि बुझाउँछौं । अनुसन्धानकै क्रममा यो घटनासंग जोडिएका अन्यको पनि खोजि भै रहेको छ ।’
नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका लगायत बिभिन्नमुलुकमा पठाउने घटनामा सन्देश शर्माको पनि महत्वपूर्ण भूमिका रहेको निष्कर्षमा प्रहरी पुगेको छ । यसअघि अपराध अनुसन्धान कार्यालयकै टोलीले यस प्रकरणमा संलग्न रहेका केशवदुलाल, सानु भट्टराई, टंककुमार गुरूङ र सागर राईलाई पक्राउ गरिसकेको छ ।
यो गिरोहका सदस्यहरुले देशका बिभिन्न जिल्लाका व्यक्तिहरुलाई भूटानी शरणार्थी बनाइदिने प्रलोभन देखाएर ५ देखि ४५ लाखसम्म असुलेका थिए । यसरी उठाएको रकम कराडाैँ रहेको प्रहरीको भनाइ छ । तर रकम ठगिएको महसुस भएपछि ठगिएकाहरुले प्रहरीमा उजुरी गरेपछि यस प्रकरणमा अनुसन्धान सुरु भएको थियो ।
२०७६ सालमा गृह मन्त्रालयले छुटेका भूटानी शरणार्थीको पहिचान गर्न गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदल बनेको थियो । उक्त कार्यदलले छुटेका भुटानी शरणार्थीको पहिचान गरेको थियो। यही अवसरबाट गिरोहका सदस्यहरुले लाभलिने प्रयास गरेका थिए । जस्मा पहुँचवाला नेताको पहुँचमा रहेका नातेदार र सहयोगीहरुको नै हात रहेको आशंका प्रहरीको छ ।
प्रतिक्रिया