तास्मानिया अष्ट्रेलिया ।
तास्मानियामा रहेर विभिन्न व्यवसायमा आबद्ध नेपालीहरूको मेला विजनेस एक्स्पो हुँदैछ । तास्मानिया राज्यका विभिन्न ठाउँमा रहेर विभिन्न पेसा व्यवसायमा आबद्ध भएका उनीहरू अप्रिल २९ का दिन एकै मञ्चमा आ–आफ्नो व्यवसायको प्रवर्द्धन गर्नका साथै अनुभवहरू सेयर गर्नेछन् ।
बिजेनेश एक्स्पो २०२३ नाम दिइएको उक्त कार्यक्रम स्थलका लागि होबार्ट सिटी हल छनौट गरिएको छ । नेप्लिज बिजनेस एसोसिएसन अफ तास्मानिया (एनबीए) आयोजना गरेको उक्त कार्यक्रममा सहभागिताका लागि यहाँ रहेका सम्पूर्ण नेपाली व्यवसायीहरूलाई एनबीएले पत्राचारसमेत गरिसकेको छ ।
पछिल्लो तथ्यांक अनुसार तास्मानियामा झन्डै १५ हजारको हाराहारीमा नेपाली बसोबास गरिरहेका छन् । प्रचुर सम्भावना रहेको तास्मानियामा पछिल्लो समय नेपाली आउने क्रम जारी नै रहेको छ । लगनशीलता र मेहनत गर्नेहरु तास्मानियाको व्यावसायिक क्षेत्रमा निकै प्रगति गरेका थुप्रै उदाहरण छन् । यहाँ रहेका नेपालीहरू कुनै न कुनै पेसा व्यवसायमा आबद्ध रहेका छन् ।
तास्मानियामा रहेका नेपालीहरू हस्पिटालिटी, शैक्षिक क्षेत्र (आरटिओ), रिटेल (ग्रोसरी, मोबाइल रिपेइरिङ), रियल स्टेट, मोरगेज ब्रोकिङ, एजुकेसन एण्ड माइग्रेसन, एकान्टिङ, अटोमोटिभ, ड्राइभिङ इन्सटेक्टर, क्लिनिङ कम्पनी, ब्युटी पार्लर, इभेन्ट कम्पनी, एनडीआइएस, ज्वेलर्स, रेस्टुरेन्ट तथा क्याफेलगायतका क्षेत्रमा व्यवसाय गर्दै आएका छन् ।
तास्मानियामा रहेर व्यवसाय गरिरहेका नेपाली व्यवसायीले राज्य सरकारलाई आर्थिक तथा स्थानीय रोजगारीको क्षेत्रमा प्रचुर मात्रामा सहयोग गरिरहेको एनबीएका अध्यक्ष रेवन्त बस्नेत बताउँछन् । नेपाली व्यवसायीहरूले विभिन्न कालखण्डहरूमा भोग्दै आएका समस्याहरू समाधान र भविष्यमा आइपर्ने सम्भावित जोखिमबारे बिजनेश एक्स्पोमा शब्द चित्र प्रस्तुत गरिने उनले बताए ।
हाल तास्मानियामा रहेका अधिकांश नेपाली व्यवसायी एनबीएमा आबद्ध रहेका छन् । तास्मानियाका व्यवसायीको छाता संगठन एनबीएमा आबद्ध नभएका व्यवसायलाई पनि एनबीएमा जोड्नेमा बिजनेश एक्स्पोले सहयोग गर्नेमा उनी विश्वस्त छन् ।
व्यवसाय प्रदर्शनीका लागि एनबीएले ४० ओटा स्टलको व्यवस्था गरेको छ । इच्छुक व्यवसायीले एनबीएले तोकेको फर्म भरेर स्टल राख्न सक्ने छन् । प्रति स्टलको शुल्क ३५० अष्ट्रेलियन डलर तोकिएको उनले बताए ।
एक्स्पोमा व्यवसायीक प्रर्दशनी, अनुभव, सांगठनिक एकता, व्यवसायीक लगानीका अपसर तथा चुनौतीबारे छलफल गरिने अध्यक्ष बस्नेत बताउँछन्।
तास्मानिया राज्यका विभिन्न क्षेत्रमा व्यवसाय गरिरहेका नेपाली व्यवसायीहरुको अवसर, समस्या र चुनौतीकारबारेमा गरिएको सर्वे सहितको वृत्त चित्र विजेश एक्स्पोको सबै भन्दा आकर्षकको विषय बनाइएको छ ।
एक्स्पोमा तास्मानिया राज्यका विभिन्न निकायका सरकारी तथा गैर सरकारी संस्थाबाट आउने प्रतिनिधिहरूलगायत सहभागी सम्पूर्णलाई सो वृत्त चित्र देखाइने छ । यस्तै उक्त कार्यक्रममा सरकारी प्रतिनिधिबाट राज्यमा लगानीको सन्दर्भमा के कस्ता लगानीका सम्भावना र सहुलियत उपलब्ध छन् भन्ने बारेमा समेत चर्चा गरिने छ ।
एनबीएका अध्यक्ष बस्नेतका अनुसार विगतका वर्षहरुमा नेपाली व्यवसायीहरूले व्यवसायीक सफल्ता हासिल गरेसँगै तास्मानिया राज्यमा नेपाली व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको छ । यद्यपि राज्य सरकारका नितिगत कुराहरु आम व्यवसायीसम्म स्पस्ट रुपमा नपुगेकाले कतिपय व्यवसायी हतोत्साहित र पलायन हुने अवस्थाको सिर्जन भएको छ । यस्तो अवस्थामा आयोजना गर्न लागिएको एक्स्पोले यहाँको राज्य सरकार तथा सम्बन्धित निकायलाई ध्यान आकृष्ट गराउन उल्लेखनीय भूमिका निभाउने छ ।
नेपालीले संचालन गरेका व्यवसायमा काम गर्ने कामदार नेपाली मात्रै नभर यहाँका स्थानीय नागरिक पनि रहेका छन् । तास्मानिया राज्य सरकारको रोजगारीमा पुराएको योगदानबारे एक्स्पोमा चर्चा परिचर्चा गरिने छ ।
पहिलो पटक होबार्टमा हुन गइरहेको विजनेश एक्स्पोमा तास्मानियामा रहेका सम्पूर्ण नेपालीवासीलाई अवलोकनका लागि आउन अध्यक्ष बस्नेतले आग्रह गरेका छन् ।
प्रतिक्रिया