एमसीसीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमाले नजाने

एमसीसीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, एमाले नजाने


काठमाडौं, ३ पुस । अमेरिकी सहयोग परीयोजनाबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि दिउँसो चार बजेका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको हो ।
बैठकमा संघीय संसदमा भैरहेको अवरोध र अमेरिकी सहयोग एमसीसीबारेमा छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । संघीय संसद्का दुवै सदनमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसदको काम प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । यस्तै संसदमा दर्ता भएको एमसीसी सम्झौताबारेमा छलफल हुन सकेको छैन । एमसीसी सम्झौताका बारेमा विवाद छ ।
एमाले सहभागी नहुने
यसैबीच प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ । प्रधानमन्त्री देउवाले एमाले औपचारिकताको लागि मात्रै बैठक बोलाएको र नेकपा एकीकृत समाजवादी पार्टी पनि बैठकमा सहभागी हुने भएकाले आफूहरु सहभागी नहुने नेताहरुले बताएका छन् ।
एमालेसँग प्रमुख प्रतिपक्षीको रुपमा गम्भीर ढङ्गले छलफल गर्नुपर्नेमा सर्वदलीय बैठकका नाममा औपचारिकता पूरा गरेर मात्रै नहुने भन्दै बैठकमा नजाने निर्णय भएको नेताहरुले बताए । एमालेले हटाएका सांसदहरु मिलेर बनेको नेकपा एकीकृत समाजवादीको बारेमा अदालतमा मुद्दा विचाराधीन रहेको र त्यो दललाई बोलाएर गरिने औपचारिक कार्यक्रममा आफूहरु सहभागी नहुने ओलीले अडान राख्दै आउनुभएको छ ।