पूर्ण खोप लगाएकाहरु विदेशबाट सिड्नी र मेलबर्न आउँदा अब क्वारेन्टीन बस्नु नपर्ने !

पूर्ण खोप लगाएकाहरु विदेशबाट सिड्नी र मेलबर्न आउँदा अब क्वारेन्टीन बस्नु नपर्ने !



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका दुई ठूला राज्यहरु न्यूसाउथवेल्स र भिक्टोरियाले संयुक्त रुपमा विदेशबाट आउने यात्रीहरुलाई अब ७२ घण्टा आईसोलेसनमा बस्नु नपर्ने नियम लागू गरेका छन् । आगामी मंगलबार २१ डिसेम्बरबाट सुरु हुने यो नियम अनुसार खोपको दुबै डोज लगाएका यात्री, विमानका कर्मचारीले यहाँ आइपुगेको २४ घण्टाभित्रै पीसीआर परीक्षण भने गर्नुपर्नेछ । यस्तो नतिजा नआउँदासम्म भने उनीहरुले आईसोलेसनमा बस्नुपर्नेछ । यसअघि भने तीन दिनका लागि होम क्वारेन्टीनमा बस्नुपर्ने नियम थियो । यही कारण अन्तर्राष्ट्रिय यात्री मात्र होइन विमानका कर्मचारीहरुले पनि महँगो शुल्क तिरेर होटलमा तीन दिन बस्नुपर्दथ्यो ।

नयाँ प्रावधान अनुसार अब अष्ट्रेलियाबाट बाहिर जानका लागि पनि ७२ घण्टाभित्र परीक्षण गरिएको नतिजा देखाउनुपर्नेछ । यसरी आउने यात्रीहरुले न्यूसाउथवेल्समा भए आगमनको छैठौं दिनमा र भिक्टोरियामा पाचौंदेखि सातौं दिनमा परीक्षणको अर्को नतिजा पनि पेश गर्नुपर्नेछ । यी दुबै परीक्षणमा नेगेटिभ देखिनुपर्नेछ ।

तर, यदि विदेशबाट आएको छ र खोप लगाएको छैन भने पूर्ण रुपमा १४ दिन क्वारेन्टीनमा बस्ने र परीक्षणहरु गर्नुपर्नेछ । हाल अन्तर्राष्ट्रिय यात्रीका रुपमा अष्ट्रेलियनहरु नै पनि विना खोप आउनसक्ने प्रावधान छ । तर, विदेशी यात्रीका हकमा भने यस्तो नियम छैन । कुनै स्वास्थ्यका कारणले खोप नलगाएको हो भने यस्तो प्रमाण पेश गर्नुपर्ने प्रावधान छ ।

हाल अष्ट्रेलियाका यी दुबै राज्यमा ९२ प्रतिशतभन्दा बढी १६ वर्षभन्दा माथि उमेर समूहकका जनसंख्याले खोप लगाइसकेका कारण दैनिक कोरोना संक्रमण भएपनि त्यसको खासै चासो राखिएको छैन । हुनपनि यसअघिको तुलनामा अस्पतालहरुमा पुग्ने बिरामीको संख्या धेरै छैन । क्वारेन्टीनका नियमहरु पालना नगर्नेहरुलाई ५ हजारदेखि १० हजार डलरसम्म जरिवाना गर्ने प्रावधान छ ।