कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न क्रिकेट संघलाई चार क्रिकेटरको आग्रह

कारबाही गर्ने निर्णयमा पुनर्विचार गर्न क्रिकेट संघलाई चार क्रिकेटरको आग्रह


काठमाडौं, २ पुस । चार क्रिकेटरले आफूहरू माथिको कारबाही गर्ने निर्णय पुनर्विचार गर्न नेपाल क्रिकेट संघ (क्यान)लाई आग्रह गरेका छन् । राजधानीमा संयुक्त पत्रकार सम्मेलन गर्दै क्रिकेटरहरू ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीले कारबाही गर्ने निर्णय पुनरविचार गर्न क्यानलाई आग्रह गरेका हुन् ।
क्रिकेटरहरुले नेपाली क्रिकेटमा विकसित भैरहेका पछिल्ला घटनाक्रमले आफुहरूलाई निकै दुःखी बनाएको बताउँदै क्यानलाई अभिभावकीय भूमिका निर्वाह गर्न समेत आग्रह गरेका छन् । विज्ञप्तिमा उनीहरूले भनेका छन्– ‘हामी अहिले पनि चाहन्छौं, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौं, खेलका लागि राम्रो वातावरण बनोस् । यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस् । हामी र हामी जस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् ।’