ओसेनिया स्पोर्टस मिटमा भिक्टोरियाबाट १ सय १७ खेलाडी सहभागी हुँदै !

ओसेनिया स्पोर्टस मिटमा भिक्टोरियाबाट १ सय १७ खेलाडी सहभागी हुँदै !


मेलबर्न, अष्ट्रेलिया ।

हरेक दुई वर्षमा आयोजना हुँदै आएको ओसेनिया स्पोर्टस मिटमा सहभागी हुन यस पटक भिक्टोरिया राज्यबाट १ सय १७ खेलाडी सहभागी हुने भएका छन् । प्रतियोगितामा सहभागी हुन जान लागेका खेलाडीहरुको सहायताका लागि आयोजना गरिएको गाला डिनरमा दिइएको जानकारी अनुसार पदाधिकारीसहित १ सय ३० जना सहभागी हुन क्यानबेरा जाने भएका छन् । क्रिकेट खेलमा सहभागी हुने खेलाडीहरु आज नै त्यसतर्फ जाँदैछन् ।

गत आईतबार आयोजना गरिएको गाला डिनरमा बोल्दै नेपाली स्पोर्टस एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेले सहभागी हुने खेलाडीहरुको हौसला बढाउन भिक्टोरियावासी नेपालीहरुलाई आग्रह गरे । उनले मिनी ओलम्पिक भनेर चिनिएको ओसेनिया स्पोर्टस मिटमा भिक्टोरियाको टिमले उत्कृष्ट प्रदर्शन गर्नेमा आफु आशावादी रहेको समेत बताए । उक्त कार्यक्रममा मुख्य प्रायोजक ब्राईटन कलेजका प्रमुख अमर आचार्यले सामाजिक दायित्व अन्तर्गत कलेज खेल गतिविधिमा समावेश भएको जानकारी दिएका थिए । उनले आफुहरुले पनि क्रिकेट क्लब सञ्चालन गरेको र खेलाडीहरुको हौसला बढाउन पाउनु आफुहरुको लागि गर्वको विषय भएको बताएका थिए ।

यस्तै समूदायका अगुवा जोग लिम्बुले हरेक पटक भिक्टोरियाले उत्कृष्ट प्रदर्शन गर्ने गरेको र यस पटक पनि निरन्तरता पाउने आशा व्यक्त गरे । कार्यक्रममा बोल्दै मुख्य प्रायोजकमध्येको एक म्याक्सीम्याक्स एजुकेशन एण्ड माईग्रेसनका ध्रुव अधिकारीले खेलाडीहरुलाई शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन प्रेरणा मल्ल र सिद श्रेष्ठले संयुक्तरुपमा गरेका थिए ।

कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले सहभागी खेलाडीहरुलाई हौसलाका साथ अघि बढ्न र भिक्टोरियाको नाम उच्च बनाउन अनुरोध गरेका थिए । यस अभियानमा लाग्ने सबैलाई धन्यवाद दिँदै उनले सफलताको कामना समेत गरे ।


यस पटक ओसेनिया स्पोर्टस मिट क्यानबेरामा आयोजना हुँदैछ । अष्ट्रेलियाका विभिन्न राज्यबाट र न्यूजिल्याण्डबाट समेट गरी १२ सय भन्दा बढी खेलाडी सहभागी हुनेछन् भने १० वटा विधामा प्रतिस्पर्धाहरु हुनेछन् । प्रतियोगितामा यस पटक फुटबल, क्रिकेट, स्वीमिग, बास्केटबल, भलिबल, टेबलटेनिस, लन टेनिस, व्याडमिन्टन, ५ किलोमिटर दौड, गल्फ खेलसमावेश छ । हरेक दुई वर्षमा आयोजना हुँदै आएकोप्रतियोगिता यसअघि कोभिडका कारण स्थगित भएको थियो ।

क्यानबेरा अघि दुईपटक सिड्नीमा, एक पटक भिक्टोरिया र ब्रिसबेनमा प्रतियोगिता आयोजना भइसकेको छ । यसअघिको प्रतियोगितामा भिक्टोरियाले क्रिकेटमा दुईपटक उपाधि जितिसकेको छ । भने एक पटक दोश्रो भएको थियो । हरेक प्रतियोगितामा सहभागिताका हिसाबले पनि भिक्टोरिया दोश्रो ठूलो टिम हुँदै आएको छ । गाला डिनर र प्रायोजनबाट उठेको रकम सहभागीहरुको शुल्क, जर्सी र यातायातमा खर्च गरिनेछ । यस्तो सहायता गर्दा विद्यार्थी खेलाडीहरुलाई प्राथमिकता दिइने अध्यक्ष गैरेले जानकारी दिए ।

हजार डलरमा बिक्यो जर्सी

स्थानीय मेलभिल रोडस्थित हलमा भएको च्यारिटी गाला डिनरमा प्रतियोगितामा भिक्टोरियन खेलाडीहरुले लगाउने जर्सी अनावरण गरिएको थियो । यस्तै उक्त अवसरमा प्रतियोगितामा सहयोग गर्ने उद्देश्यले च्यारिटी लीलामी समेत गरिएको थियो । जसमा नेपाली मौलिक बाजा सारंगी ४ सय ५० डलरमा एभरेष्ट फाईनान्सका राजेश कँडेलले खरिद गरेका थिए भने हालै सम्पन्न ओडिआई क्रिकेट क्वालिफायर खेल्ने सबै खेलाडीहरुले हस्ताक्षर गरेको नेपालको राष्ट्रिय क्रिकेट टोलीको जर्सी १०५० डलरमा बिक्री डेस्टिनी लिभिंगका केशव खत्रीले खरिद गरेका थिए ।