बूढो कांग्रेसमा पलाए पालुवा, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित

बूढो कांग्रेसमा पलाए पालुवा, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित


काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतपरिणाम सार्वजनिक गरेको हो । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार नेपाली काँग्रेसको विधान अनुसार थापा र शर्मा महामन्त्री पदमा निर्वाचित हुनुभएको हो ।
घिमिरेका अनुसार गगन थापा तीन हजार २३ मत र विश्वप्रकाश शर्मा १९ सय ८४ मत ल्याएर विजयी हुनुभएको हो । महामन्त्रीका ६ प्रतिस्पर्धीमध्ये प्रकाशशरण महतले १५ सय ५६, प्रदीप पौडेलले १३ सय ९३ मत प्राप्त गर्नुभयो भने मिनेन्द्र रिजालले ८०९ मत प्राप्त गर्नुभएको छ । महामन्त्रीका अर्का उम्मेदवार राजाराम कार्कीले भने १०६ मत मात्र प्राप्त गर्नुभएको छ ।
खसेको कुल ४६ सय ८२ मतमध्ये ४३ मत बदर भएको छ । काँग्रेस सभापतिमा शेरबहादुर देउवा यसअघि नै विजयी हुनुभएको छ । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनुभएको छ ।