कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, गच्छदार २ मतले पराजित, महामन्त्रीको मतगणना हुँदै

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित, गच्छदार २ मतले पराजित, महामन्त्रीको मतगणना हुँदै


काठमाडौं, १ पुस । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । गए राति अबेर प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित भएका हुन् । देउवा पक्षका उम्मेदवार विजयकुमार गच्छदार दुई मतान्तरले पराजित भए । कांग्रेस निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत पाए । त्यस्तै गच्छदारले १९०६, चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत पाए ।
१४ औं महाधिवेशनमा खड्का र गच्छदार देउवा प्यानलबाट, गुरुङ र भण्डारी शेखर कोइराला प्यानलबाट, सुजाता कोइराला प्रकाशमान सिंह प्यानलबाट र दिव्यश्वरी शाह विमलेन्द्र निधि प्यानलबाट उम्मेदवार बनेका थिए । आचार्यले कुनै प्यानलमा नरही उम्मेदवारी दिएका थिए ।

महामन्त्रीको मतगणना सुरु गर्ने तयारी
कांग्रेसको महामन्त्री पदको मतगणना आज गरिँदै छ । सभापति देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट सभापति र उपसभापति पदको परिणाम घोषणा भइसकेकाले महामन्त्री पदको मतगणना गर्ने तयारी गरिएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने विधानमा व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । कांग्रेसको विधानअनुसार ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्य निर्वाचनबाट चुनिने छन् । यीबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्नेछन् ।