कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङको अग्रता

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङको अग्रता


काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् । पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा पूर्णबहादुर खड्का र धनराज गुरुङले अग्रता लिएका हुन् । पार्टी कार्यालयका तीन ठाउँमा मतगणना भइरहेको छ ।
२८०० मत गन्दा पूर्णबहादुर खड्काले १३२१ मत पाएका छन् भने धनराज गुरुङले १२६७ मत पाएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै विजयकुमार गच्छदारले १२१३ र चन्द्र भण्डारीले १११५ मत पाएका छन् । दुई जना उपसभापतिका लागि सात जना प्रतिस्पर्धामा छन् । उपसभापतिमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाहबीच प्रतिस्पर्धा छ ।
पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना एक साथ गर्दा झन्झटिलो हुने भएकाले पदाधिकारीको सकेर केन्द्रीय सदस्यको गणना गर्ने निर्णय गरिएको हो । उपसभापतिको मतगणना सकिएपछि भोली बिहान महामन्त्री र त्यसपछि सह–महामन्त्रीको मतगणना सुरु हुनेछ । महामन्त्री र सह–महामन्त्रीको सकिएपछि मात्रै केन्द्रीय सदस्यको मतगणना गर्ने तयारी छ ।