Logo

मूल्यवृद्धि बढ्यो, रेमिट्यान्स घट्यो, अर्थतन्त्रका सूचक नकारात्मक



काठमाडौं, २९ मंसिर । मुलुकको अर्थतन्त्र नकारात्मकतर्फ उन्मुख हुन थालेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले अर्थतन्त्रका धेरै सूचकांक नकारात्मक देखिएको हो । बुधबार सार्वजनिक गरिएको प्रतिवेदनअनुसार कात्तिक महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार धेरै सूचक नकरात्मकतर्फ रहेको देखिएको हो ।
देशभित्रको उपभोक्ता मूल्य वृद्धि बढेको छ । कात्तिकमा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य वृद्धि पाँच दशमलव ३२ प्रतिशत पुगेको छ । मूल्य वृद्धि अघिल्लो वर्षको यही अवधिमा चार दशमलव शून्य पाँच प्रतिशतमा सीमित थियो । यस्तै अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स सात दशमलव सात प्रतिशतले घटेको छ । असोजमा पनि रेमिट्यान्स सात दशमलव ५ प्रतिशतले घटेको थियो । चालु खाताको घाटा दुई खर्ब २३ अर्ब १९ करोड पुगेको छ । यस्तै गएको वर्षको यही अवधिमा देशको चालु खाता १९ अर्ब एक करोड रुपैयाँले बचतमा थियो । देशमा भित्रिने र बाहिरिने रकमबीचको अन्तर अर्थात शोधनान्तर स्थिति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले नोक्सानीमा पुगेको छ । असोजमा यस्तो घाटा ७६ अर्ब १४ करोड रुपैयाँ थियो ।
यस्तै विदेशी विनिमयको सञ्चिति १० अर्ब ४७ करोड डलर बराबरमा झरेको छ । यो असोजको तुलनामा ५१ करोड डलर कम हो । यस्तै कात्तिकसम्ममा सरकारले विकासका लागि छुट्याएको पुँजीगत खर्चमध्ये २० अर्ब ७९ करोड रुपैयाँमात्रै खर्च गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २९ दशमलव चार प्रतिशतले कमी हो ।