कांग्रेस सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित

कांग्रेस सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित


काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको सभापतिमा पुनः शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । देउवाले २७३३ मत पाए भने निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।
दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् २३११ मत चाहिन्थ्यो ।
यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैले पनि बहुमत ल्याएका थिएनन् । सबभन्दा धेरै मत भने देउवाले ल्याएका थिए । तर बहुमत पुगेन । कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६ सय ७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २ हजार ३ सय ४० मत चाहिन्थ्यो । देउवाले २ हजार २ सय ५८ पाएका थिए भने शेखरले १ हजार ७ सय २ पाएका थिए । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भयो ।