कांग्रेसमा कसैले पनि बहुमत पु-याउन सकेन, पुनः मतदान हुँदा देउवा र कोइरालामध्ये कसले मार्ला बाजी ?

कांग्रेसमा कसैले पनि बहुमत पु-याउन सकेन, पुनः मतदान हुँदा देउवा र कोइरालामध्ये कसले मार्ला बाजी ?


काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत कटाउन नसकेपछि पुनः मतदान हुन लागेको हो । सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए ।
पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन् । उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन् । कोइरालाले १७२९, सिंहले ३७१ निधिले २४९ र गुरुङले २० मत प्राप्त गरेका छन् । अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ ।
महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमै जित निकाल्नका लागि बहुमत अर्थात् २३४० मत आवश्यक थियो । तर, सभापतिका प्रत्याशी कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् ।
कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ । निर्वाचन समितिले मतपत्रको तयारी गरेर तुरुन्तै मतदान प्रक्रिया अघि बढाउने जनाएको छ ।
कांग्रेसमा यसपटक सभापति १, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ८ सहित १३४ पदका लागि निर्वाचन भएको छ । सभापतिको परिणाम आएपछि मात्रै बाँकी पदको मतगणना हुनेछ ।