ओसियाना स्पोर्टस मिट २०२३ को लागि होबार्टमा गाला डिनर

ओसियाना स्पोर्टस मिट २०२३ को लागि होबार्टमा गाला डिनर


अष्ट्रेलिया होबार्ट ।

अप्रिल ७ देखि १० गतेसम्म अष्ट्रेलियाको राजधानी क्यानबेरामा हुन गइरहेको ओसियाना स्पोर्टस मिटका लागि तास्मानियाको होबार्टमा गाला डिनरको आयोजना गरिने भएको छ । तास्मानिया राज्यलाई प्रतिनिधित्व गर्दै क्यानबेरा जाने खेलाडीका लागि होबार्टस्थित बहुसांस्कृतिक केन्द्रमा अप्रिल १ तारिख शनिवारका दिन गाला डिनरको आयोजना गरिने भएको हो। गाला डिनर बेलुका ६ बजे देखी राति ११ बजेसम्म चल्ने छ।

उक्त गाला डिनरमा डिजे र स्थानीय कलाकार जय घलेलगायतले सांगीतिक प्रस्तुति दिनेछन् । गाला डिनरको ओसियाना स्पोर्टस मिटमा प्रतिनिधित्व गर्ने टिम तास्मानियका विभिन्न बिधाका खेलाडीहरूलाई आर्थिक हिसाबले सहयोग गर्ने उद्देश्य रहेको छ । उक्त कार्यक्रममा आर्थिक संकलनको लागि टिम तास्मानिया नामक टिसर्टको पनि विक्री गरिने छ । क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस ५ किलोमिटर दौड र भलिवल रहेका छन् । जसमा क्रिकेटमा १४ जना खेलाडी ब्याडमिन्टनमा ४ जना टेबल टेनिसमा २ जना ५ किमी दौडमा एक जना र भलिबलमा ६ जना रहेका छन् ।

ओसियानामा प्रतिनिधित्व गर्ने खेलाडी अधिकांश विद्यार्थी रहेकाले आर्थिक संकलनका लागि गाला डिनरको आयोजना गरिएको आर्थिक संयोजक पुनम पन्तले बताइन् । उनले यो अभियानमा तास्मानियामा रहेका सम्पूर्ण नेपाली व्यवसायी संघ सस्था र स्थानीयहरूलाई सहयोगका लागि आग्रह गरिन् ।

अभियानलाई नेप्लिज तास्मानिया स्पोर्टस एसोसिएसन, संगीत सम्बाद रेडियो, नेप्लिज विजनेस एसोसिएसन अफ तास्मानिया, नेपाली सोसाइटी अफ तास्मानिया, तास्मानिया क्रिकेट एसोसिएसन अष्ट्रेलियन नेप्लिज फुटबल एसोसियसन तास्मानिया र एनआरएनए तास्मानियाले साथ दिएका छन् ।

उक्त गला डिनरको टिकटको मूल्य ५० अष्ट्रेलियन डलर तोकिएको छ । टिकट खरिद गर्नका लागि एनटीएसएका विष्णु सापकोटा, संजिव खड्का, संगीत सम्वादकी एलिजा पंगिनी, एनबीएका रेवन्त वस्नेत, नेस्टका तोयाराज भट्टराई र टिएनसिएका बाबुराम न्यौपानेसँग सम्पर्क गर्न सकिने छ ।

तास्मानियामा रहेका सम्पूर्ण नेपाली संघ संस्थासँग मिलेर ओसियाना पठाउने टिम तास्मानियाको व्यवस्थापन भइरहेको तास्मानिया स्पोर्टस एसोसिएसनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए । उनले यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।