कार्यविभाजनका विषयमा एमालेमा व्यापक असन्तुष्टि

कार्यविभाजनका विषयमा एमालेमा व्यापक असन्तुष्टि


काठमाडौं, २७ मंसिर । नेकपा एमालेभित्र कार्यविभाजनलाई लिएर व्यापक असन्तुष्टि देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगले केन्द्रीय सदस्यको कार्यविभाजन गरेपछि नेताहरू असन्तुष्ट भएका हुन् । चितवन महाधिवेशनपछि दोस्रो पटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनयन, स्थायी समिति गठन, पोलिटब्युरो तथा प्रदेश इन्चार्ज तोक्ने लगायतको काम गरेको थियो। भक्तपुरमा बसेको बैठकमा अध्यक्ष ओलीले सिधै नामहरू प्रस्ताव गरेका थिए।
लगत्तै सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, पृथ्वीसुब्बा गुरूङ, योगेश भट्टराई, झपट रावल, निरज आचार्य लगायतले विरोध जनाएका थिए ।
एमाले केन्द्रीय सदस्य झपट रावलले कार्यविभाजनमा लिखित रूपमा असन्तुष्टि जनाएका छ । उनले आफू कैलाली इन्चार्ज भएको र केन्द्रीय कमिटी सदस्य भएको ४ वर्षपछि मनोनित भएका साथीलाई पोलिटब्युरो बनाएर उसको मातहतमा राखिएको गुनासो गरे । उनले कैलालीको सहइन्चार्जबाट आफूलाई हटाउनसमेत माग गरेका छन् ।
रावलल जस्तै केन्द्रीय सदस्य निरज आचार्यले पनि जाजरकोट जिल्लाको सहइन्चार्जको जिम्मेवारीमा नबस्ने भन्दै लिखित सूचना दिएका छन् । जाजरकोटको संयोजकमा भैरवसुन्दर श्रेष्ठ छन् । श्रेष्ठलाई जिल्ला इन्चार्ज प्रदेशमा सहइन्चार्ज र केन्द्रमा पनि पोलिटब्युरोसम्मको भूमिका दिए पनि आचार्यले आफूलाई अपमानजक ढंगले सहइन्चार्ज बनाइएको बताए ।
बैठकमा उपाध्यक्ष सुवास नेम्वाङ र युवराज ज्ञवालीले पनि पदाधिकारीबीच छलफल गरेर कार्यविजभान गर्नु उचित हुने धारणा राखेका छन् । उपमहासचिव समेत रहेका पृथ्वीसुब्बा गुरूङले एक पक्षीय ढंगले निर्णय लिनु उचित नभएको टिप्पणी बैठकमा गरेका थिए। एमाले केन्द्रीय कमिटी बैठकमा आफैंले कार्यविभाजनका लागि नामहरू प्रस्ताव गरे पनि ओलीले नेताहरूको विरोधपछि सबैलाई न्याय नभएको महसुस आफूलाई पनि भएको बताएका थिए।
बैठकमा योगेश भट्टराईले भीम रावललाई केन्द्रीय समिति र स्थायी समितिम ल्याउन सुझाएका थिए ।